यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत सबै प्रकरणको छानविन गर्नुस्, मलाई फरक पर्दैन : ओली
ओलीले गिरिबन्धु टी इस्टेटको जग्गा पहिले कानुनविना बिक्री भएकामा आफूले कानुन बनाएर व्यवस्थित गरेको दाबी गरे।
काठमाडौं, भदौ ११ : यती, ओम्नी र गिरीबन्धु टी–स्टेटलगायत सबै प्रकरणको छाविन गर्न एमाले अध्यक्ष केपी ओलीले सरकारलाई चुनौती दिएका छन्। काठमाडौंमा आयोजित ‘जनप्रतिनिधिसँग केपी ओली’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यी प्रकरणमा छानबिन गर्दा पनि आफूलाई कुनै फरक नपर्ने बताए।
‘हामीले छानबिन गर भनिराखेका छौं त । के यती होल्डिङस, यती होल्डिङस भनेर कराइरहेको, वाइडबडी, गर न त छानबिन अनि जाऊ आफैं जेलमा’, उनले भने, ‘वाइडबडीको छानबिन गर, जेल जाऊ। अस्तिसम्म ललिता निवास ललिता निवास भन्दै थिए, अहिले भागारे भाग छ। कोही यताबाट कोही उताको ढोकाबाट भागाभाग छ।’
ओलीले गिरिबन्धु टी इस्टेटको जग्गा पहिले कानुनविना बिक्री भएकामा आफूले कानुन बनाएर व्यवस्थित गरेको दाबी गरे।
‘अहिले चिया बगान निस्केको छ । गर न छानबिन, विना कानुन ०५३ सालमा १९ विघा जमिन बेच्न दिइएको थियो कमिसन खाएर, त्यसको छानबिन गर । ०६० कि कति सालमा बिना कानुन ५१ बिघा जमिन बेच्न दिइएको थियो, कमिसन खाएर । छानबिन गर जेल जाऊ’, उनले भने, ‘हामीले कानुन बनाइदिएका हौं । अब उपरान्त कानुनसम्मत गर भनेर भनेका छौं।’
उनले नेकपा एमाले कमिसनका पछाडि हिँड्ने पार्टी नभएको र महान उद्देश्यका लागि हिँड्ने पार्टी भएको बताए। उनले ओम्नी प्रकरणबारे पत्रिका पढेर थाहा पाएको भन्दै आफूले अहिलेसम्म नदेखेको र सुनेको मात्रै जिकिर गरे।











