Kathmandu Press

पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएपछि आफन्तद्वारा विरोध प्रदर्शन

पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएपछि आफन्तद्वारा विरोध प्रदर्शन

धनगढी, भदौ ११ : पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएपछि धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा आफन्तले विरोध प्रदर्शन गरेका छन् ।

पत्थरीको उपचारका क्रममा कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर आफन्त आन्दोलित भएका हुन्। उनीहरूले धनगढीको शहीद गेटमा प्रदर्शन गर्दै सडकमा यातायात बन्द गराएका छन् । चौधरीको उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारवाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पीडित पक्षको मागबारे अस्पताल प्रशासनसँग छलफल भइरहेको छ। 

चिकित्सकले बायाँ मिर्गौला नै झिकिदिएको चौधरीका आफन्तको भनाइ छ। चौधरीको बायाँ मिर्गौलामा दुइटा र दायाँ मिर्गौलामा एउटा पत्थरी छ भन्दै बायाँ मिर्गौलामा रहेको पत्थरी झिक्न शनिबार दिउँसो ३ बजे शल्यक्रिया गरिएको थियो। 

चिकित्सकले शल्यक्रिया राम्रो भएको भन्दै  झिकेको पत्थरी पनि देखाए तर बिरामीको पेट फुल्न थालेपछि राति ८ बजेतिर किड्नीको नसा काटिएकाले अत्यधिक रक्तश्राव भएको र मिर्गौला झिकेर मात्र ज्यान बच्ने भनेपछि त्यसै गरेको तर आइतबार बिहान बिरामीको अवस्था जटिल भएर राति मृत्यु भएको आफन्तले बताएका छन्।

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, भदौ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्