Kathmandu Press

‘टीकापुरमा ५० हजारमा ३ कट्ठा ७ धुर जग्गा किनेकी हुँ, त्यसमा कुनै विवाद छैन’

‘मेरो नामको जग्गाको विषयमा पहिल्यैदेखि सम्पत्ति विवरणमा पनि उल्लेख छ, यसमा कैफियत छैन’
‘टीकापुरमा ५० हजारमा ३ कट्ठा ७ धुर जग्गा किनेकी हुँ, त्यसमा कुनै विवाद छैन’

काठमाडौं, भदौ ११ : कांग्रेस सांसद आरजु राणा देउवाले आफूले टीकापुरमा प्रतिकट्ठा १५ हजार रुपैयाँका दरले ५० हजार दिएर ३ कठ्ठा ७ धुर जग्गा किनेको र त्याे जग्गा 'लिगल' रहेकाे बताएकी छन्। टीकापुरमा रहेको जग्गालाई लिएर गलत ढंगले समाचारहरू आएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणाा राखेकी हुन्।    

‘टीकापुरमा राजा महेन्द्रले पहाडेहरुलाई बसोबास गर्ने भनेर त्यसबेलाका मन्त्री खड्गबहादुर सिंहलाई अह्राइबक्सेको रहेछ, त्यसबेला पुनर्वास भन्ने हुन्थ्यो नि,’ टिकटकमा उनले भनेकी छन्, ‘पछि व्यवस्था परिवर्तन भएपछि कांग्रेसको सरकार हुँदा अछामका देवेन्द्रबहादुर शाह समितिको अध्यक्ष हुनुहुन्थ्यो, त्यसबेला भक्तबहादुर बलायर मन्त्री हुनुहुन्थ्यो। एक दिन उहाँले मलाई फोन गरेर टीकापुरमा जग्गा किन्ने भन्नुभएको थियो।’

त्यसबेला आफूले टीकापुरको नामै नसुनेको बताउँदै उनले अनकन्टारमा रहेकाले सस्तै हुन्छ भनेर किन्न लगाइएको स्पष्ट पारेकी छन्।  ‘बर्दिया, कैलाली थाहा थियो, टीकापुर थाहा थिएन। कहाँ हो र यो भनेको, यो अलि अनकन्टार पनि छ, राम्रै हुन्छ, सस्तो पनि छ, किनिबक्सियोस् भनेका थिए। त्यसपछि हुन्छ त नि भनेर पैसा सोध्दा ५० हजार रुपैयाँ भनेपछि त्यसबाट एक कठ्ठाको १५ हजारको दरले ३ कट्ठा ७ धुर जग्गा आएको हो।’

‘फकिरसिंह कठायत आफ्नै पार्टीको अध्यक्ष बन्नुभयो, समितिले आफ्नै रुल बनाएर दिन पाउने रहेछ, बीचमा अर्कै पार्टीको मान्छे आयो, उहाँको नाम म लिदिन’, उनले भनेकी छन्, ‘उहाँले खड्गबहादुर सिंहको पालामा एक कट्ठाको एक हजारको दरको’ नक्कली बनाएर पूर्जा आह्वान गर्नुभएछ। त्यो बेला ककसले किन्नुभएको थियो, त्यो मान्छेहरु फेरि लिन आउनुस् भनेर आह्वान गरेको रहेछ।’

त्यो विषयमा पहिले पनि उजुरी परेको र के के गरेर मिलाएको र अहिले उजुरीचाहिँ कांग्रेसकै साथीहरुले खोलाएको उनले बताइन्। अहिले रेशम चौधरीको हकमा केही थाहा नभए पनि आफूले किनेको जग्गा भने 'लिगल' भएको र त्यसमा कुनै विवाद नरहेकाे उनले बताएकी छन्। ‘मेरो नामको जग्गाको विषयमा पहिल्यैदेखि सम्पत्ति विवरणमा पनि उल्लेख छ, यसमा कैफियत छैन,’ उनले भनेकी छन्।

प्रकाशित मिति: १४:०६ बजे, सोमबार, भदौ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्