Kathmandu Press

शारुक आत्महत्याबारे नम्रताको प्रस्टीकरण : मेरो मौनतालाई कमजोरी नठानियोस्

आज सामाजिक सञ्जालमा लामाे स्टाटस लेखेर उनले शारुकको आत्महत्या प्रकरणलाई लिएर आफूविरुद्ध सामाजिक आक्रमण गरिएको स्पष्ट पारेकी छन्।
शारुक आत्महत्याबारे नम्रताको प्रस्टीकरण : मेरो मौनतालाई कमजोरी नठानियोस्

काठमाडौं, भदाै ११ : अभिनेत्री नम्रता श्रेष्ठले शारुक ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर आफ्नो भनाइ राखेकी छन् ।

आज सामाजिक सञ्जालमा लामाे स्टाटस लेखेर उनले शारुकको आत्महत्या प्रकरणलाई लिएर आफूविरुद्ध सामाजिक आक्रमण गरिएको स्पष्ट पारेकी छन्। आफ्नो मौनतालाई कमजोरी नठान्न आग्रह गर्दै उनले सबैलाई सत्यको बाटो हिँड्न सुझाएकी छन्।शारुकको आत्महत्याअघि नम्रतासँग झगडा भएको समाचारहरू बाहिरिएका थिए। केहीले शारूककाे आत्महत्याको प्रमुख कारण नम्रता नै भएकाे दाबी गरेका थिए। तर प्रहरीले सार्वजनिक गरेकाे शारुकको सुसाइड नोटमा भने नम्रतालाई आरोपित गरिएको छैन।

Hardik ivf

पुरुषप्रधान समाज महिला भएकै कारण आफूमाथि धेरै सामाजिक आक्रमण भएको बताउँदै उनले आफ्नो मौनतालाई कमजोरी नठान्न अपिल गरेकी छन्। ‘म एक महिला मात्र नभएर कलाकार पनि हो अनि नेपाली नागरिक। हरेक नेपाली नागरिकको बाच्ने पाउने नैसर्गिक अधिकार हुन्छ सायद यो देशमा कानुन मरेको छैन। यो कानुनी राज्य हो झुटको खेती गर्नुहुने सबै दिग्गज महानुभाव हरुलाइ सत्यको बाटो हिँड्न लागि आग्रह गर्दछु,’ उनले फेसबुकमा लेखेकी छन्। 

घटना केही दिनपहिलेकाे भए पनि सामाजिक सञ्जालमार्फत केही बोल्न बाध्य भएको उनले बताएकी छन्। ‘सामान्य अवस्थामा पनि त्यति सारो मिडियामा आउने मान्छे होइन म तर हाल यो घटनापश्चात एकलौटी रुप मा विभिन्न मिडियामार्फत कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लाग्नु भएको थियो, मेरो परिवार र हाम्रो कानुनी टिम ले त्यो किसिमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौं।’

उनले शारुक एक सम्भावना बोकेको, सहयोगी र मिलनसार व्यक्तिका रुपमा चित्रण गर्दै घटनाले आफूलाई अचम्भित तुल्याएको बताएकी छन्। अनुसन्धानमा असर पर्ने भएकाले आफू अहिलेसम्म मिडियामा नबोलेको भन्दै उनले प्रहरी प्रशासनले बोलाएका बेला उपस्थित भएर बयान दिइसकेको बताएकी छन्।

‘तर यहाँ एकतर्फी रूपमा केही मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे, त्यो कुरा मिडियामा सबैले पढ्नुभएकै छ,’ उनी भन्छिन्, ‘आत्महत्याजस्तो संवेदनशील विषयलाई ग्लोरिफाइ गर्नु उचित हुँदैन।’ आफूविरुद्ध आएका भ्रामक / तथ्यहीन  समाचारप्रति घाेर भर्त्सना गरेकी छन्।

नेपाल प्रहरी अनुसन्धानमा अब्बल रहेको बताउँदै शारूकको आत्महत्याको बारेमा पनि सत्यतथ्य दुधको दुध पानीको पानी हुने गरी अनुसन्धान गर्नेछ भन्नेमा पूर्ण आशावादी रहेको उनको भनाइ छ।  ‘कोही अपराधी नउम्कयोस्, निर्दोष नफसोस् भन्ने भनाइ हो,’ उनले लेखेकी छन्, ‘अनुसन्धान लाइ प्रभाव पार्ने काम कोही कसैबाट नगरौं, निष्पक्ष छानबिन होस, म र मेरो परिवारका तर्फबाट प्रहरी प्रशासनलाई अनुसन्धानको सवालमा पूर्ण सपोट रहनेछ।’  

प्रकाशित मिति: १३:०८ बजे, सोमबार, भदौ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्