कोशी प्रदेशमा गठबन्धनले फोहोरी खेल खेल्यो : ओली
‘गठबन्धनको नाममा लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरूद्ध प्रदेशमा बलमिच्याइँ छ, फोहोरी राजनीति गरिरहेका छन् । केन्द्रीय नेतृत्व मौन बस्नु आश्चर्यजनक हो,’ ओलीले भने।
मोरङ, भदौ १० : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले कोशी प्रदेशमा सत्ता गठबन्धनले फोहोरी खेल खेलेको बताएका छन्।
प्रदेश कमिटीको पूर्ण बैठकलाई विराटनगरमा सम्बोधन गर्दै उनले कोशीमा गठबन्धनले फोहोरी खेल खेले पनि केन्द्रका गठबन्धनका नेतृत्वहरु मौन बसेको बताए।
‘गठबन्धनको नाममा लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरूद्ध प्रदेशमा बलमिच्याइँ छ, फोहोरी राजनीति गरिरहेका छन् । केन्द्रीय नेतृत्व मौन बस्नु आश्चर्यजनक हो,’ ओलीले भने।
सर्वोच्चले नै अवैध ठहर गरिसक्दा पनि सत्ता नछाडेको भन्दै ओलीले कोशी गठबन्धन सत्ता कब्जा गर्न लागिपरेको बताए।
अध्यक्ष ओलीले प्रदेशमा भएको समस्यालाई हेरेर बस्नेहरुलाई ताली बजाउने मौका दिन नहुने बताए। उनले एमालेसँग लड्न आउनेको सिङ निकाल्ने तर आपसमा लडेर बस्न नहुने उल्लेख गरे।
गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेको बताउँदै सबै जातजाति मधेशी, दलित, थारु, लिम्बूवान, किराँत, शेर्पा सबैले न्याय पाउनुपर्ने उनको भनाई छ ।