समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको विकल्प छैन: प्रधानमन्त्री दाहाल
उनले सबै दलहरूसँग समन्वय गरेर नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र विधिविधानमा चल्ने देशका रुपमा चिनाउन आफ्ना चाहना भएको बताए।
काठमाडौं, भदौ १० : प्रधानमन्त्री पुष्पकमल दाहालले समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको विकल्प नभएको बताएका छन्।
आइतबार ललितपुरमा मुख्यमन्त्री कार्यालय भवन उद्घाटन कार्यक्रममा उनले सुशासन सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्यमा सरकार अगाडि बढेको भन्दै त्याे यात्रामा जानुको कुनै विकल्प नरहेको बताए।
‘सुशासन सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्य हाम्रो नयाँ सरकारले भनेको छ र त्यसमा अगाडी बढ्दै छ। त्यसमा सबै प्रदेशहरुको पनि सहयोग अझै राम्रसँग हुनेछ भन्ने विश्वास छ,’ उनले भने, ‘हामीलाई स्थीरता, स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प हामीसामू छैन।’
ललिता निवास जग्गा प्रकरणमा सरकारी वकिलले आइतबार अदालतमा मुद्दा पेस गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सुशासन दिने सरकारको प्रतिबद्धताअनुरुप पहिलो पाइला अघि सरेको बताए। उनले सबै दलहरूसँग समन्वय गरेर नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र विधिविधानमा चल्ने देशका रुपमा चिनाउन आफ्ना चाहना भएको बताए।
‘मैले आफ्नो ठाउँबाट सबैलाई समझदारी बनाएर अगाडि बढ्ने प्रयास गर्दै आएको छु। आजको दिन ललिता निवास प्रकरणको सबै अभियोजन सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेको दिन पनि हो। यस हिसाबले आज सरकारले सुशासनमा एक पाइला अघि सारेको छ,’ प्रधानमन्त्री दहालले भने, ‘मैले देशको कार्यकारी प्रमुखको हैसियतले नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र विधिविधानमा चल्ने देशको रुपमा विश्वसामु चिनाउन चाहेको छु, म त्यसका लागि सबैलाई आग्रह गर्छु।’











