Kathmandu Press

‘जय हो’ र ‘महानगर’ प्रदर्शनमा

‘जय हो’ र ‘महानगर’ प्रदर्शनमा

काठमाडौँ, भदौ १० : दुई नेपाली चलचित्र ‘जय हो’ र ‘महानगर’ प्रदर्शनरत छन्। फरक विधाका दुई चलचित्रले दर्शकको साथ पाउनेमा निर्माण पक्ष विश्वस्त छ। टेक पौरखी राईले निर्देशन गरेकाे ‘जय हो’ मा केकी अधिकारी, सलोन बस्नेत, निशा अधिकारी, अर्पण थापा, माओत्से गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन्। 

'प्रेम कथामा बनेको चलचित्र सम्पूर्ण वर्गका दर्शकका लागि तयार गरेका छौँ, यसले नेपालको सुन्दर दृश्यसँगै सामाजिक विषयलाई उठान गरेको छ', अभिनेता बस्नेतले भने। शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतले द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेले नृत्य निर्देशन, बनिश शाहले सम्पादन, समीर मियाँले भीएफएक्स, सुरेश न्यौपानेले कथा लेखन, सौरभ लामाले छायाङ्कन, शम्भुजित बाँस्कोटा र सागर आले मगरले सङ्गीत सिर्जना गरेका छन्। 

Hardik ivf

प्रदर्शनरत अर्को चलचित्र ‘महानगर’ (वान् नाइट इन् काठमाडौँ) मा एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथा समेटिएको छ। महानगर भित्रिनेको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गरिएको चलचित्रमा सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक रातले ल्याएको परिवर्तनलाई उतारिएको लेखक तथा निर्देशक मोहन राईले जानकारी दिए।

'विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई देखाउने कोसिस गरेका छौँ, यहाँ बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ, मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले चलचित्र तयार गरेँ, खासमा यो ‘ह्युमन कनेक्सन’ र ‘होप’ बारेको चलचित्र हो', निर्देशक राईले भने। 

चलचित्रमा कार्म, मेनुका प्रधान, अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायत कलाकारले अभिनय गरेका छन्। चलचित्रमा नरेन्द्र मैनालीले छायाङ्कन, परीक्षित झाले सम्पादन, किशोर आर्चायले ध्वनि सम्पादन तथा पुष्पा सङ्गमले सङ्गीत सिर्जना गरेका छन्।

प्रकाशित मिति: १४:३६ बजे, आइतबार, भदौ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्