राप्रपालाई एउटा संसदीय समितिको सभापति पाउने, दीपक सिंहले उम्मेदवारी दिने
मकवानपुरबाट निर्वाचित सांसद दीपक सिंहले यसअघि ऊर्जा राज्यमन्त्रीको पनि जिम्मेवारी सम्हालिसकेका छन्।
काठमाडौं, भदाै १० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लाई एउटा संसदीय समितिको सभापति पाउने भएको छ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिनी पार्लियामेन्टका रूपमा चिनिने संसदीय समितिमा राप्रपालाई पनि एउटा सभापति दिने निष्कर्षमा पुगेका थिए। हाल दुबईमा रहेका राप्रपा अध्यक्ष राजेन्द लिङदेनले संसदीय समिति सभापतिबारे प्रचण्डसँग कुराकानी गरेको पनि बताइएको छ।
प्रचण्डले राप्रपाका कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई फोन गरेर एउटा सभापति दिन तयार रहेको र उम्मेदवार तयार पार्न सुझाएको बताइएको छ।
कांग्रेसले ३ वटा र माओवादीले २ वटा समितिको नेतृत्व पाउने गरी समझदारी भए पनि कांग्रेस–माओवादीको भागमा परेकामध्ये एउटा राप्रपालाई दिने प्रस्ताव प्रचण्डले गरेको बताइएको छ।
स्रोतका अुनुसार राप्रपाले पूर्वाधार विकास समिति पाउने भएपछि सो पदमा सांसद दीपक सिंहलाई उम्मेदवार बनाउने भएको छ। मकवानपुरबाट निर्वाचित सांसद दीपक सिंहले यसअघि ऊर्जा राज्यमन्त्रीको पनि जिम्मेवारी सम्हालिसकेका छन्।
संसदीय समिति सभापतिका लागि सोमबार दिउँसो ३ बजे निर्वाचन हुँदैछ। १० वटा विषयगत समितिको नेतृत्वका आकांक्षीहरूले आज उम्मेदवारी दर्ता गर्ने गर्दैछन्।











