दलीय सहमति : कुन समिति सभापति कसको भागमा ?
सहमतिमा प्रमुख दलहरु कायमै रहे उनीहरूले आज सोहीअनुसार उम्मेदवारी दिनेछन्। भोलि दिउँसो ३ बजे सभापतिको निर्वाचन हुने संसद सचिवालयले जनाएको छ।
काठमाडौं, भदाै १० : प्रतिनिधिसभाअन्तर्गतका १० विषयगत समिति सभापतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दिने समय तोकिएको छ।
प्रमुख राजनीतिक दलहरूले समितिका सभापतिहरूमा यसअघि नै भागबन्डा गरिसकेका छन्। प्रमुख दलहरुबीच भएको सहमतिअनुसार संसदको ठुलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका तीनसहित चार र प्रमुख प्रतिपक्षी एमालेले संघीय संसदमा रहेका ती विषयगत समितिको नेतृत्व पाउनेछन्।
त्यस्तै सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले २, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमत पार्टीले एकएक समितिको नेतृत्व गर्ने सहमति गरेका छन्। जसअनुसार कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति, अर्थ समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिका लागि उम्मेदवारी दिनेछ।
त्यस्तै एमालेले सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक मामिला समिति सभापतिका लागि उम्मेदवारी दिनेछ। माओवादी केन्द्रले कानुन, न्याय तथा मानवअधिकार समिति र पूर्वाधार विकास समितिको नेतृत्व गर्नेछ।
एकीकृत समाजवादीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, जनता समाजवादी पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र जनमत पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति पाएका छन्।
सहमतिमा प्रमुख दलहरु कायमै रहे उनीहरूले आज सोहीअनुसार उम्मेदवारी दिनेछन्। भोलि दिउँसो ३ बजे सभापतिको निर्वाचन हुने संसद सचिवालयले जनाएको छ।
प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि समिति सभापतिमा दलहरुबीच सहमति भएपछि चुनाव हुन लागेको हो। तर, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका अन्य साना दल प्रमुख दलबीच भएको सहमतिप्रति असन्तुष्ट छन्। उनीहरूले छुट्टै उम्मेदवारी दिने तयारी गरेका छन्।











