कमिसन खाएर काम गर्नलाई म कांग्रेस-माओवादी होइन : ओली
अध्यक्ष ओलीले गिरीबन्धु चिया बगानको बोट ६० वर्षभन्दा बुढो भएको र अब काम नदिने भनेर निवेदन आएपछि स्थानान्तरणको निर्णय गरेको बताए।
झापा, भदौ ९ : नेकपा एमालेका अध्यक्ष केपीले बिर्तामोडस्थित गिरीबन्धु टि स्टेटको जग्गा सट्टाभर्नाको निर्णय कानुन बनाएर गरेको बताएको छ।
दमकमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले बगान सञ्चालक निवेदन लिएर आएपछि आफूले कानुन र नियम बनाएर निर्णय गरेको बताए।
‘मैले कानुन बनाइदिएँ। कानुन कार्यान्वयन गर्न नियम बनाइदिएँ। उहाँहरूले आदेश मान्नुभयो। १३ वैशाख ०७८ मा सर्त राखेर भूमिसुधारले हेरेर त्यो जमिन ठीक भयो भने वातावरणीय मूल्यांकन गरेर दिन्छ भनेँ,’ उनले भने।
कमिसन खाएर काम गर्नलाई आफू कांग्रेस–माओवादी नभएको ओलीले बताएका छन्। उनले अन्य दलले नयाँ बसपार्क बनाउने नाममा कमिसन खाएर बगानको ७० बिघा जग्गा स्थानान्तरणका लागि निर्णय गरेको दाबी पनि गरे।
‘गिरीबन्धु टि स्टेट केपी ओलीले खायो भन्छन्। तिनीहरूले एकपटक १९ र एकपटक ५१ बिघा गरेर ७० बिघा जमिन टी स्टेटलाई सट्टाभर्ना गर्न दिएका थिए,’ ओलीले भने, ‘बसपार्क क्षेत्रको भनेको ७० बिघा गैरकानुनी ढंगले कमिसन खाएर गरेको कारोबार हो।’
अध्यक्ष ओलीले गिरीबन्धु चिया बगानको बोट ६० वर्षभन्दा बुढो भएको र अब काम नदिने भनेर निवेदन आएपछि स्थानान्तरणको निर्णय गरेको बताए। ओलीले अर्काको सम्पत्तिमा स्थानान्तरण रोक्न आफू अंशियार नभएको बताए।
हिजो पञ्जात र राजासँग घुँटा नटेकेको भन्दै ओलीले भ्रष्टहरुका अगाडि कहिल्यै घुँडा नटेक्ने बताए। ‘यस्ता भ्रष्ट तत्वविरुद्ध आवाज कम पनि गर्दिनँ। यस्ताहरूका अगाडि घुँडा टेक्न आवश्यक छैन। पञ्चायत तानाशाहसँग घुँडा टेकिएन, राजासँग हिजो टेकिएन। तिनीहरूलाई लडाइयो,’ उनले भने, ‘भारतका पाँचतारे होटेलमा बसेर ज्वाइँ पालिएझैँ पालिएर यता मान्छे मराएर क्रान्तिका गफ दिएको होइन। हामी त लडेर जेल परेर आएका हौँ।’











