कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले पनि दख्खल नपुर्याउन कांग्रेस सभापति देउवाकाे अपिल
सभापति देउवाले संविधानले सबैलाई आफ्नो धर्म, संस्कृति पालना गर्ने स्वतन्त्रता दिएको र त्यस्तो स्वतन्त्रताको प्रयोग गर्दा अरुको आस्थामा समेत चोट पुर्याउन नपाइने व्यवस्था गरेको स्मरण गराएका छन्।
काठमाडौं, भदौ ९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले पनि दख्खल पुर्याउन नहुने बताएका छन्।
केही दिनयता धरानमा भइरहेको द्वन्द्वका विषयमा सभापति देउवाले चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक र राजनैतिक सद्भावका लागि अपिल गरेका छन्।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले संविधानले सबैलाई आफ्नो धर्म, संस्कृति पालना गर्ने स्वतन्त्रता दिएको र त्यस्तो स्वतन्त्रताको प्रयोग गर्दा अरुको आस्थामा समेत चोट पुर्याउन नपाइने व्यवस्था गरेको स्मरण गराएका छन्।
नेपालमा परापूर्वकालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौं, राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएको देउवाले बताएका छन्।
‘नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याई आ(आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन,’ सभापति देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुर्याउन पनि उचित हुँदैन।’
सभापति देउवाले नेपालीको भावना र चाहनाविपरीत धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको अनुकूल नहुने दाबी गरेका छन्। उनले यस्ता घटनाले अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोज्ने अदृश्य शक्तिलाई सहयोग पुग्ने उल्लेख गरेका छन्।
सद्भाव भड्किए यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरि हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता भएको उनले बताएका छन्।
देउवाले धरानमा उत्पन्न परिस्थितिको संवेदनशीलतालाई ख्याल गर्दै सबै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज ब्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने अग्रसर बन्न अपिल गरेका छन्।











