Kathmandu Press

सक्षम र योग्य न्यायाधीश नियुक्ति आवश्यक छ : मन्त्री गुरुङ

कानुन व्यवसायीसँगको भेटघाट कार्यक्रममा उनले अब नियुक्त हुने न्यायाधीशबाट न्यायपालिकाको सुधार हुने अपेक्षा गरिएको बताए।
सक्षम र योग्य न्यायाधीश नियुक्ति आवश्यक छ : मन्त्री गुरुङ
फाइल तस्बिर।

झापा, भदौ ९ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायपालिका सुधारका लागि सक्षम र योग्य न्यायाधीश नियुक्ति हुन आवश्यक रहेको बताएका छन्।

डेमोक्रयाटिक लयर्स एसोसिएसन झापाले चन्द्रगढीमा आयोजना गरेको कानुन व्यवसायीसँगको भेटघाट कार्यक्रममा उनले अब नियुक्त हुने न्यायाधीशबाट न्यायपालिकाको सुधार हुने अपेक्षा गरिएको बताए।

नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएको मन्त्री गुरुङले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने मान्यताअनुरुप न्यायालयलाई राजनीतिक हस्तक्षेपबाटमुक्त राख्ने प्रतिबद्धता व्यक्त गरे। योग्य र सक्षम न्यायाधीश नियुक्तिका पक्षमा सरकार रहेको उनको धारणा थियो।

न्यायिक क्षेत्रमा विगतको जस्तो कमजोरी हुन नदिन न्यायाधीश नियुक्तिमा ढिलाइ नगरिने मन्त्री गुरुङको भनाइ थियो।

झापा जिल्ला अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवालीले झापामा मुद्दाको चाप बढेकाले जनशक्ति थप्न आवश्यक भएको बताए। कार्यक्रममा एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्रीले न्याय क्षेत्रमा रहेका बेथिति तथा विसंगति हटाएर न्यायपालिकालाई स्वतन्त्र र मर्यादित बनाउन आवश्यक रहेको बताए।

प्रकाशित मिति: १७:३९ बजे, शनिबार, भदौ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्