पार्टी रुपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँ : उपसभापति खड्का
काठमाडौँ क्षेत्र नं ३ को क्षेत्रीय भेलामा उनले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रुपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिए।
काठमाडौं, भदौ ९ : नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टी रुपान्तरण र सुधार आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ क्षेत्र नं ३ को क्षेत्रीय भेलामा उनले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रुपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिए।
'अरुलाई भन्नुभन्दा हरेक नेता तथा कार्यकर्ताले आफैँबाट सुधार सुरु गर्नुपर्छ', रक्षामन्त्रीसमेत रहनुभएका खड्काले भन्नुभयो, 'पार्टीलाई जीवनका लागि टोल तहको नेतृत्वदेखि केन्द्रीय तहका सबैमा सुधार जरुरी छ।' उनले आम नेपाली जनता, मतदाता र पार्टी कार्यकर्ताले मन नपराएको तथा नगर भनेको कुरा नगर्दा मात्रै पनि पार्टीमा सुधार देखिने धारणा राखे।
उनले जनताले औँल्याएका कमी कमजोरी सुधार गरी जाने सङ्कल्प बोकेर काम गरे पार्टी सुधार र रुपान्तरण हुने बताउनुभयो। पार्टीमा स्थापनाकालमा काम गरेका र नयाँ पुस्ता पनि रहेको भन्दै उनले पार्टीको निर्णय पनि त्यसैअनुसार व्यवस्थापन हुनुपर्ने भनाइ राखे।
उपसभापति खड्काले केन्द्रीय तहबाट हुनुपर्ने विभाग गठनमा केही ढिलाइ भए पनि चाँडै त्यसलाई पूर्णता दिइने जानकारी पनि दिए। उनले एउटा उमेर समूहले अर्को उमेर समूहलाई पार्टीमा औँला उठाउने मात्र गरे पार्टी बलियो हुन नसक्ने भन्दै सबै मिलेर जानुपर्नेमा जोड दिए।
सरकारले सुशासनको अभियानलाई निरन्तरता दिइने बताउँदै उनले भ्रष्टाचार अन्त्य गर्ने र सुशासनका लागि वर्तमान सत्तागठबन्धन बनेकाले सरकार पनि त्यही सङ्कल्पका साथ अघि बढेको जानकारी गराए।
उनले सरकारले चाँडै लम्पी स्कीन रोगबाट पीडित किसानलाई राहत दिइने र त्यसका लागि कृृषि तथा पशुपन्छी विकास मन्त्रालयले काम गरिरहेको जानकारी पनि दिए।











