कोशी र मधेशमा भारी वर्षाको सम्भावना, मौसम क्रमिक सुधार हुने
महाशाखाले कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएका छ।
काठमाडौं, भदौ ९ : आजबाट मौसममा क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा क्रमिक सुधार भएपनि कोशी र मधेश प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ।
महाशाखाले कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएका छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको महाशाखाले जनाएको छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भूभागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ।
महाशाखाकाअनुसार आज दिउँसोदेखि क्रमिक रुपमा मौसममा सुधार आउनेछ। केही दिनदेखि निरन्तर वर्षा भइरहेकोमा आजदेखि क्रमिक मौसम सुधार हुने महाशाखाले जनाएको छ।
राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ।
आइतबार भने देशका थोरै स्थानमा वर्षा हुनेछ भने हल्कादेखि मध्यम वर्षाको सम्भावना भएपनि भारी वर्षा नहुने महाशाखाले जनाएको छ।











