Kathmandu Press

ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती लिने गिरोह पक्राउ

पक्राउ पर्नेमा धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौंका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलबासे र पर्वतका ४२ वर्षीय दिलबहादुर थापा छन्।
ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती लिने गिरोह पक्राउ

काठमाडौं भदौ ८ : नेपाल प्रहरीले ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने गिरोहलाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत जेठ १२ गते नेपालबाट ‘सिजनल भिषा’मा वैदेशिक रोजगारीका क्रममा सर्बिया गएका तीन नेपालीलाई बन्धक बनाएर रकम फिरौती माग्ने चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौंका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलबासे र पर्वतका ४२ वर्षीय दिलबहादुर थापा छन्।

ब्यूरोका प्रवक्ता नवराज अधिकारीले सर्बियामा गएका पीडितले चित्त बुझ्दो रोजगार तथा तलब सुविधा नपाएपछि लुकीछिपी ग्रीस प्रवेश गर्न खोज्दा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानीले अपहरण गरी डोरीले बाँधेर शारीरिक तथा मानसिक यातना र डर त्रास देखाइ ज्यान मार्ने धम्की दिइ फिरौती १५ हजार युरो मागेकाले पक्राउ गरिएको बताए।

पक्राउ परेका कुँवर नेपालमा फिरौती रकम लिने, अर्याल नेपालमा फिरौती लिएको रकम कुँवरसँग लिन सम्पर्क गर्ने, बेलबासे दुबईबाट नेपालमा कुँवरलाई फिरौती रकम लिन लगाउने र थापा दुबईमा बेलबासेलाई रकम नेपालको अर्याललाई दिनु भनी सम्पर्क गर्न भूमिका खेलेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

प्रहरीले ग्रीसमा बन्धक बनाइ राखेका पीडितलाई सकुशल उद्धार गरेको छ। पक्राउ चारै जनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: २०:४४ बजे, शुक्रबार, भदौ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्