‘संविधानलाई संकटमा पार्ने काम भइरहेको छ’
‘अब कुनै पनि व्यक्ति दुखित हुन नपरोस्, अपमानित महसुस गर्न नगरोस्, बेरोजगारी नहोस् भन्ने चाहनाका साथ मोर्चा बनाएका छौं,’ मोर्चाका अध्यक्षसमेत रहेका नेपालले भने।
पर्सा, भदौ ८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संविधानको अपव्याख्या गर्ने र संविधानलाई संकटमा पार्ने काम भइरहेको बताएका छन्।
समाजवादी मोर्चाले पर्साको वीरगञ्जमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन अध्यक्ष नेपालले संविधानलाई संकटमा पार्ने काम भइरहेकाले संविधानको रक्षा गर्न चार दलीय समाजवादी मोर्चा बनाएको बताए।
जनताको जीवनस्तरमा परिवर्तन ल्याउन र समृद्धि मुलुक बनाउनु मोर्चाको पहिलो कार्य नीति रहेको उनले बताए । ‘अब कुनै पनि व्यक्ति दुखित हुन नपरोस्, अपमानित महसुस गर्न नगरोस्, बेरोजगारी नहोस् भन्ने चाहनाका साथ मोर्चा बनाएका छौं,’ मोर्चाका अध्यक्षसमेत रहेका नेपालले भने।
देशमै स्वरोजगारी सिर्जना कामलाई तत्काल अघि बढाउनुपर्नेमा उनले जोड दिए। वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानलाई मोर्चाको साथ रहने अध्यक्ष नेपालले उद्घोष गरे।
वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गर्दै अध्यक्ष नेपालले सरकारलाई जनताको चाहना, इच्छाअनुसार सुशासन र समृद्धिको यात्रामा अघि बढ्न सुझाव दिए।











