‘समृद्धिको यात्रामा सरकार अघि बढ्यो, अब पछि हट्दैन’
उनले पुराना एजेण्डा र पुरानो विचारले प्रतिगामी शक्तिसँग लड्न नसक्ने भएकाले नयाँ सोच, नयाँ विचार र नयाँ एजेण्डाका साथ अघि बढेको स्पष्ट पारे।
पर्सा, भदौ ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य बताएका छन्।
समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आयोजना गरेको सन्देशसभामा प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गरिएको भन्दै दुःख व्यक्त गरे।
‘यतिबेला जनयुद्ध र मधेस आन्दोलमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालहरुबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ, खासगरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध ठूलो प्रपञ्च भइरहेको छ,’ प्रधानमन्त्री दाहालले भने।
प्रधानमन्त्री दाहालले यो निकै दुःखद कुरा भएको बताउँदै यसलाई आफूहरुले गम्भीर रुपमा लिएका उल्लेख गरे।
प्रतिगामी शक्तिका विरुद्ध र जनतालाई समाजवादको यात्राका डोर्याउन समाजवादी मोर्चा बनाएको उल्लेख गर्दै उनले पुराना एजेण्डा र पुरानो विचारले प्रतिगामी शक्तिसँग लड्न नसक्ने भएकाले नयाँ सोच, नयाँ विचार र नयाँ एजेण्डाका साथ अघि बढेको स्पष्ट पारे।
‘सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘सुशासन, समाजवाद र समृद्धिको यात्रामा सरकार अघि बढिसकेको छ, अब यसबाट सरकार पछि हट्दैन।’
विभिन्न अवरोध, अड्चनका बाबजुद नक्कली भुटानी शरणार्थी घटनालाई छानबिन गरी निष्कर्षमा पुर्याइए जस्तै ललिता निवास काण्ड र सुन तस्करी काण्डलाई सरकारले निष्कर्षमा पुर्याउने उनले बताए।
सरकारले मधेसमा ठूलो समस्याको रुपमा देखिएको मिटरब्याजी पीडितहरुको समस्या ऐन बनाएर सम्बोधन गर्ने प्रयास गरिएको र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने कामलाई अघि बढाएको प्रधानमन्त्री दाहाल उल्लेख गरे।
मधेसको विकासका लागि आफू चिन्तित रहेको बताउँदै उनले निजगढ विमानस्थल निर्माणका लागि बिहीबार नै मन्त्रिपरिषदबाट निर्णय भइसकेकाले काम छिट्टै अघि बढ्ने बताए।
उनले मधेस प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहत प्याकेज ल्याउने तयारी भइरहेका बेला ठूलो वर्षा र बाढी आएकाले त्यो तत्कालका लागि रोकिएको उल्लेख गर्दै उहाँले एक दुई दिनभित्रै उक्त निर्णय गरिने र मधेसका किसानले राहत पाउने विश्वास व्यक्त गरे।











