Kathmandu Press

‘भ्रष्टाचारविरुद्धको अभियानबाट जनतामा आशा जागेको छ’

उनले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादीले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताए।
‘भ्रष्टाचारविरुद्धको अभियानबाट जनतामा आशा जागेको छ’

काठमाडौं, भदौ ८ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्ष तथा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट आम जनतामा आशा जागेको बताएका छन्।

माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको कार्यक्रममा उनले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादीले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताए।

‘प्रचण्ड नेतृत्वको सरकारले चलाएको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन्। तर आमजनता यो अभियानबाट खुसी भएका छन् । लोकतन्त्र र राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले चलाएको भ्रष्टाचार विरोधी अभियानबाट आम जनतामा आशा पलाएको छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने।

सरकारले भ्रष्टाचार विरोधी अभियान दृढतापूर्वक अगाडि बढाएको उनले गरे। ‘भ्रष्टाचार विरोधी अभियान दृढतापूर्वक अगाडि बढाउँछौं। सरकार र गृह मन्त्रालयको नेतृत्वको निरन्तरता भनेकै तस्कर, भ्रष्टाचारी र ठगविरुद्धको अभियान हो,’ उनले भने, ‘यो अभियानमा आम जनताको साथ र सहयोगको अपेक्षा छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सामान्तवादको अवशेषका रूपमा रहेको मिटरव्याजसम्बन्धी समस्या  समाधान गर्ने सरकारको कदम सुशासन र भ्रष्टाचार विरोधी कदमकै निरन्तरता रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए। उनले सरकारले जनताको पक्षमा निरन्तर काम गरिरहने पनि बताए।

 

प्रकाशित मिति: १९:०१ बजे, शुक्रबार, भदौ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्