ओलीले राजनीतिमा घृणा र निन्दाको संस्कृति विकास गरे : महासचिव भुसाल
‘राजनीतिमा जतिबेला कमरेड ओलीजीको उदय भयो त्यसपछि राजनीतिमा घृणाको, निन्दाको खुट्टा तानातानको भ्रष्टाचारको गालीगलौजको परम्परा भन्नुहोस् संस्कृति बन्दै गयो। अहिले त ओलीजी भन्दा दश हात पर निन्दा भत्सर्नामा आए। नयाँ पुस्ता आए।’
काठमाडौं, भदाै ८ : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले देशको राजनीतिमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको उद्यसँगै घृणा र निन्दाको संस्कृति बढ्दै गएको आरोप लगाएका छन्।
शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिमा ओलीको उद्यसंगै घृणा, निन्दा, खुट््टा तानातान, भत्र्सना र गाली गलौजको परम्परा बढ्दै, गएको आरोप लगाएका हुन्।
उनले भने, ‘राजनीतिमा जतिबेला कमरेड ओलीजीको उदय भयो त्यसपछि राजनीतिमा घृणाको, निन्दाको खुट्टा तानातानको भ्रष्टाचारको गालीगलौजको परम्परा भन्नुहोस् संस्कृति बन्दै गयो। अहिले त ओलीजी भन्दा दश हात पर निन्दा भत्सर्नामा आए। नयाँ पुस्ता आए।’
अहिले राजनीतिमा आएका नयाँ पपुलिस्टहरु केपी ओलीको मानस पुत्रहरु भएको टिप्पणी गर्दै उनले भने, 'त्यो पपुलिजम ठक्कर खायो त्यसपछि नयाँ पपुलिस्टहरु बजारमा आएका छन्। राजनीतिलाई असाध्यै सस्तो ठानेका छन् तिनीहरुले। तीनका कुरा र हाउभाउ सुन्नुस्। राजनीति मानौं चुड्कीको भरमा गर्ने भनेर सोच्दैछन्। त्यसैले ती ओलीजीका मानस पुत्रहरु हुन् अहिलेका पपुलिजमहरु भन्ने गरेको छु मैले। फन्टुस नयाँ पपुलिस्टहरु आउँदैछन्।’











