धरानका मेयर हर्क साम्पाङलाई व्यक्तिका जग्गामा प्रवेश नगर्न आदेश
उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले बिहीबार प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो।
काठमाडौं, भदाै ८ : अदालतले धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई व्यक्तिका जग्गामा प्रवेश नगर्न आदेश दिएको छ।उच्च अदालत विराटनगरले उनलाई दोस्रोपटक यस्ताे आदेश दिएको हाे।
उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले बिहीबार प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो।
धरान-४ स्थित छोटी मोरङ डाँडामा रहेको रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा मेयर साम्पाङले जबरजस्ती विरूवा रोपेको भन्दै अधिकारी दम्पती यसअघि नै अदालत गएका थिए।
व्यक्तिको जग्गामा वृक्षरोपण गर्न गएकाे भन्दै एक महिनाअघि अदालतले उनलाई त्यस्तो कार्य नगर्न आदेश दिएको थियो। मेयर साम्पाङ सोही ठाउँमा गएर स्थानीयको घर भत्काउने धम्की दिएकाे भन्दै साे विषय फेरि अदालत पुगेको थियाे।
साउन ६ गते मेयरले आफ्नो जमिनमा जबरजस्ती गरेको, पाराग्लाइडिङको उडानस्थलमै विरूवा रोपेर असर पारेको भन्दै अधिकारी परिवार अदालत पुगेको थियो। साउन ११ गते उच्च अदालत विराटनगरका न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश जारी गर्दै ‘मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा अनधिकृत रूपमा प्रवेश नगर्न, वृक्षरोपण गर्ने कार्य नगर्न, नगराउन’ भनेको थियो।
गत सोमबार मेयर साम्पाङ फेरि साे जमिनमा पुगेर घर भत्काइदिने धम्की दिएपछि विवाद भएको थियो। अधिकारी दम्पतीले साम्पाङकाे प्रतिवाद गरेको भिडिओ सार्वजनिक भएको थियो। उक्त घटनाले आफूमाथि दुर्व्यवहार भएको भन्दै मेयर साम्पाङले पनि प्रशासनमा उजुरी दिएर दम्पतीलाई पक्रन प्रहरीलाई दबाब दिएका थिए।












