Kathmandu Press

स्वास्थ्य बिमा बोर्डकाे सूचीबाट हटाइए २६ वटा निजी स्वास्थ्य संस्था

बोर्डको ३२ साउनमा बसेको बैठकले स्वास्थ्य बिमाअन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका ती निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरेको हो।
स्वास्थ्य बिमा बोर्डकाे सूचीबाट हटाइए २६ वटा निजी स्वास्थ्य संस्था

काठमाडौं, भदौ ८ : स्वास्थ्य बिमा बोर्डले २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ। बोर्डको ३२ साउनमा बसेको बैठकले स्वास्थ्य बिमाअन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका ती निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरेको हो।

आर्थिक वर्ष २०७९/८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बिमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरेको बोर्डले एक सूचना जारी गरेर बताएको छ।

सेवा सूचीबाट हटाइएका अस्पतालमा बिएन्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (बिर्तामोड), लाइफ लाइन अस्पताल (झापा), मेची नेत्रालय (झापा), नोबेल मेडिकल कलेज (विराटनगर), विराट मेडिकल कलेज एन्ड रिसर्च सेन्टर (विराटनगर), चितवन मेडिकल कलेज (भरतपुर), नेसनल मेडिकल कलेज (वीरगञ्ज), शुभस्वस्तिक अस्पताल (बर्दिबास), नेपाल आँखा प्रतिष्ठान (भैरहवा) छन्।

यसैगरी राप्ती आँखा अस्पताल (दाङ), नेपालगञ्ज मेडिकल कलेज (बाँके), फत्तेवाल आँखा अस्पताल (बाँके), फुलकुमारी मेमोरियल हस्पिटल (सिरहा) र सगरमाथा चौधरी आँखा अस्पताल (सिरहा), लाल रत्न अस्पताल (कैलाली) लगायतका स्वास्थ्य संस्थालाई पनि सूचीबाट हटाएको हो। बिमा बोर्डको तथ्यांकअनुसार स्वास्थ्य बिमाका लागि मुलुकभर ४६४ वटा स्वास्थ्य संस्था सूचीकृत छन्, जसमध्ये ५२ निजी स्वास्थ्य संस्था थिए। २६ वटा भने सूचीबाट हटाइएका छन्।

सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन नगर्ने घोषणा गरेको थियो। जसका कारण मेडिकल कलेजहरुले पनि आफूले दिँदै आएको सेवा बन्द गरेका थिए। सरकारले सरकारी, सामुदायिक र सहकारीबाट सञ्चालन भएका अस्पतालमा बिमामा कार्यक्रम सञ्चालन गर्ने भएपछि  बोर्डले निजी अस्पताललाई पुनः नवीकरण रोकेर सूचीबाट हटाउन थालेको हो।

प्रकाशित मिति: १४:०६ बजे, शुक्रबार, भदौ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्