दुई महिनादेखि रोकियो लाइसेन्सको छपाई
ठेक्का पाएको जर्मन कम्पनीले समयमै कार्ड डेलिभरी नगर्दा लाइसेन्सको छपाई रोकिएको यातायात व्यवस्था विभागले जनाएको छ।
काठमाडौं, भदौ ७ : सवारीचालक अनुमति पत्र (लाइसेन्स)को छपार्इ रोकिएको छ। करिब २ महिनायता लाइसेन्सको छपाइ रोकिँदा सेवाग्रही प्रभावित बनेका छन्।
ठेक्का पाएको जर्मन कम्पनीले समयमै कार्ड डेलिभरी नगर्दा लाइसेन्सको छपाई रोकिएको यातायात व्यवस्था विभागले जनाएको छ। अहिले वैदेशिक रोजगारमा जाने र अत्यावश्यक पर्नेहरुका लागि मात्रै फाट्टफुट्ट कार्ड छपाइ हुने विभागले जनाएको छ।
अन्यका लागि नियमित रुपमा हुने ठूलो परिमाणको छपाइ कार्य २ महिनादेखि रोकिएको हो। लाइसेन्स छपाइ रोकिएपछि ट्रायल पास भएका र नवीकरण हुने पर्खाइमा रहेका करिब ८ लाख प्रभावित भएको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए।
ठेक्का पाएको जर्मन कम्पनीले १२ लाख कार्ड डेलिभरी गर्नुपर्नेमा नगरेको उनले बताए। दसैंअघि नै १२ लाख कार्ड आउने थप अरु कार्डका लागि टेन्डर प्रक्रिया अघि बढाउनेगरी गृहकार्य भइरहेको उनले बताए।











