संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने
सभामुख देवराज घिमिरेले बिहीबारको बैठकमा निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने कार्यक्रम छ।
काठमाडौं, साउन ७ : प्रतिनिधिसभाका १० वटै विषयगत समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ।
सभामुख देवराज घिमिरेले बिहीबारको बैठकमा निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने कार्यक्रम छ।
सभामुखको कार्यकक्षमा बिहीबार बसेको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो।
निर्वाचनका निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया हुने जनाइएको छ। निर्वाचनपछि संसदीय समितिहरूले नेतृत्व पाउने भएका छन्।
दलहरूबीच कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २, जसपा र एकीकृत समाजवादीले १/१ समितिको सभापति पाउने गरी सहमति भएको छ।
सभापति नहुँदा संसदका समितिका बैठकहरू जेष्ठ सदस्यको नेतृत्वमा हुँदै आएका थिए। प्रतिनिधि सभाका १० तथा प्रतिनिधि सभा र राष्ट्रिय सभाका संयुक्त २ गरी जम्मा १२ वटा समितिका सभापति पद चयन हुन बाँकी छ।











