Kathmandu Press

सभापति देउवाद्वारा डा. कार्कीप्रति श्रद्धाञ्जली

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभाका पूर्वसदस्य  डा कार्कीको बुधबार साँझ उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो।
सभापति देउवाद्वारा डा. कार्कीप्रति श्रद्धाञ्जली

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता स्व.डा. राजाराम कार्कीको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभाका पूर्वसदस्य  डा कार्कीको बुधबार साँझ उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो। उनीप्रति श्रद्धाञ्जलीका लागि  आज बिहान ९ बजेदेखि ११ः३० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो। 

श्रद्धाञ्जली सभामा  कांग्रेसका उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य, जिल्ला सभापति एवं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

धादिङ नीलकण्ठ नगरपालिका निवासी नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहेका स्व. कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन्।

पार्टी प्रतिबन्धित भएको समयमा विसं २०३० मा नेपाल विद्यार्थी संघ धादिङको जिल्ला अध्यक्ष बनेका डा. कार्की २०३७ सालमा नेविसंघ महाराजगन्ज क्याम्पसको अध्यक्ष बनेका थिए।

२०४३ सालमा महाराजगञ्ज क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति, विसं २०५३ मा नेपाली कांग्रेस धादिङको जिल्ला सचिव, विसं २०५४ मा तरुण दलको केन्द्रीय महासचिव, विसं २०५८ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य र विसं २०६४ मा धादिङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए।

कार्की अघिल्लो कार्यकालमा बागमती प्रदेशमा सांसद बनेका थिए। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

प्रकाशित मिति: १२:३३ बजे, बिहीबार, भदौ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्