समितिमा पठाइयो नेपाल विश्वविद्यालय विधेयक
प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गरिएको विषय पनि जानकारी गराइएको छ।
काठमाडौं, भदौ ६ : प्रतिनिधिसभाको बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ दफावार छलफलका लागि संसदीय समितिमा पठाउने निर्णय गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०८० दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा पेश गरेका थिए।
प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गरिएको विषय पनि जानकारी गराइएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्याविधि थप गर्नेगरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदनसमक्ष पेश गरेका छन्।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि, २०८० गत असार ३० मसान्तसम्म रहेकोमा शान्ति प्रक्रियाको काम बाँकी रहेकाले दुवै आयोगको कार्यावधि, २०८० पुस मसान्तसम्ममा रहने गरी मन्त्रिपरिषद्बाट आदेश जारी गरिएको बेहोरा मन्त्री गुरुङले सदनलाई जानकारी गराएका थिए।











