धादिङ बस दुर्घटना : मृतक मध्ये चार जनाको सनाखत
बाँकी चार जनाको पनि परिचय खुलाउने प्रयास भइरहेको एसपी मिश्रले जानकारी दिए।
धादिङ, भदाै ६ : धादिङ बस दुर्घटनामा ज्यान गुमाउने ८ मध्ये चार जनाको सनाखत भएको छ।
सनाखत भएका चार जनामा जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका–८ का अन्दाजी २४र२५ वर्षका सविन रम्तेल र कास्की फुलबारीका अन्दाजी २४÷२५ वर्षका सुमन थापा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए।
बाँकी चार जनाको पनि परिचय खुलाउने प्रयास भइरहेको एसपी मिश्रले जानकारी दिए। आज बिहान काठमाडौंबाट पोखरा हुँदै बेनी जान लागेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा दुर्घटना भई त्रिशूली नदीमा खस्दा आठजनाको मृत्यु भएको थियो।
दुर्घटनामा परी १५ जना घाइते भएकोमा १४ जनालाई काठमाडौं लगिएको र तीमध्ये पनि पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइतेहरूमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ की २२ वर्षीया अञ्जु राना मगर, म्याग्दीको रघुगंगा गाउँपालिका– ७ का २९ वर्षीय प्रविन पुन र परिचय नखुलेका थप तीन जना रहेको प्रहरीले जनाएको छ।











