एमाले र राप्रपाको बहिष्कारपछि कोशी प्रदेशसभा बैठक स्थगित
बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए। एमालेका सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धव थापालाई संविधानविपरीत विश्वासको मत दिएको भन्दै विरोध जनाए।
विराटनगर, भदौ ६ : प्रतिपक्षी दलहरु एमाले र राप्रपाको बहिष्कार गरेपछि कोशी प्रदेशसभाको आजको बैठक स्थगित भएको छ।
बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए। एमालेका सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धव थापालाई संविधानविपरीत विश्वासको मत दिएको भन्दै विरोध जनाए। विश्वासको मत लिने क्रममा सभाध्यक्षको अधिकारको दुरुपयोग गरेको उनीहरुको आरोप छ।
उनले सभाध्यक्षबाट अरु पनि गैरसंवैधानिक कार्य हुन सक्ने देखिएको भन्दै एमाले र राप्रपा अरु सांसदहरुले केहीबेर नाराबाजी र बैठकस्थल छोडेर हिँडेपछि मन्सुरीले बैठक अर्को सूचना नहुन्जेलसम्मको लागि स्थगित भएको घोषणा गरे। मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभाध्यक्ष मन्सुरीले पनि थापाको पक्षमा मत दिएका थिए।
आजको प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रस्ताव टेबल गर्ने कार्यसूची थियो।











