Kathmandu Press

मानव जीवनका लागि पराभौतिक विज्ञान आवश्यक छ : डा जेपी अग्रवाल

त्रिभुवन विश्वविद्यालय, आर्थिक विभागद्वारा आज कीर्तिपुरमा आयोजित प्रवचन कार्यक्रममा उनले मानव जीवनलाई सार्थक बनाउन, जीवनभर सुख, शान्ति र सन्तुष्टिका लागि भौतिक ज्ञानका साथै आध्यात्मिक ज्ञान हुनुपर्ने आश्यकता औँल्याए।
मानव जीवनका लागि पराभौतिक विज्ञान आवश्यक छ : डा जेपी अग्रवाल

काठमाडौं, भदौ ६ : आध्यात्मिक चिन्तक तथा न्युरोलोजिस्ट डा. जयप्रकाश अग्रवालले कुनै पनि विषयका कुरा सुन्नु, सुनेका कुरालाई बुझ्नु, बुझेका कुरालाई मनन गर्नु र मनन गरेका कुरालाई व्यवहारमा उतार्न सकेमात्र त्यो विषय आफ्नो जीवनका लागि सार्थक हुने बताएका छन्। 

त्रिभुवन विश्वविद्यालय, आर्थिक विभागद्वारा आज कीर्तिपुरमा आयोजित प्रवचन कार्यक्रममा उनले मानव जीवनलाई सार्थक बनाउन, जीवनभर सुख, शान्ति र सन्तुष्टिका लागि भौतिक ज्ञानका साथै आध्यात्मिक ज्ञान हुनुपर्ने आश्यकता औँल्याए।

'अपरा विज्ञान  (भौतिक विज्ञान) ले थुप्रै आविष्कार गरेको छ, सुख तथा सुविधा उपलब्ध गराएको छ। आर्थिक रूपले सम्पन्न पनि गराएको छ तर अपरा विज्ञान (मेटाफिजिकल साइन्स) को ज्ञानको अभावमा सबै सुख तथा सुविधा भएर पनि मानसिक रूपले सन्तुष्टि दिलाउन नसक्दा आत्महत्या गर्ने तथा निराश हुनेजस्ता घटना समाजमा विद्यमान देखिन्छ,' डा. अग्रवालले भने, 'धर्मशास्त्र वेदमा उल्लिखित परा विज्ञान र अपरा विज्ञानमध्ये अपरा विज्ञानलाई मात्र अवलम्बन गरिएकाले मानिसमा सुख तथा शान्तिको अभाव भएको हो।' 

शरीरबाहिर प्रकाश र ध्वनि भएझैँ हाम्रो शरीरभित्र पनि प्रकाश र ध्वनि छ त्यसलाई अनुभूति गर्न सक्नुपर्ने बताउँदै  उनले आमाको गर्भमा रहेको बालकले पनि सात महिनादेखि त्यो ध्वनि र प्रकाशको ध्यान गरिरहेको हुन्छ तर पृथ्वीमा आएपछि यो क्रम रोकिने उल्लेख गरे।

बालकमा सक्रिय भएको दायाँ दिमागको क्षमता पनि १२ वर्षको उमेरपछि निष्क्रिय हुने र बायाँ दिमाग भने जन्मेदेखि नै सक्रिय हुँदै जाने भएकाले १२ वर्षको उमेरपछि उपनयन (तेस्रो आँखा खुलाउने संस्कार) गरेर दाहिने दिमागलाई पुनः सक्रिय गराउने प्रचलन रहेको डा. अग्रवालको भनाइ थियो। 

उनले भने, 'जन्मेपछि चार वर्षसम्म बालकमा डेल्टा वेभ, चारदेखि आठ वर्षसम्म ठिटा वेब, आठदेखि १२ वर्षसम्म अल्फा वेब रहने, १२ वर्षदेखि माथि बिटा वेब रहने भएको र बिटा वेबका कारण विकासको क्रमसँगै मानिसको मन भड्किरहने र अशान्ति पैदा हुने भएकाले मनलाई नियन्त्रण गर्न वा डेल्टाकै स्थितिमा पुग्न ध्यान गर्नुपर्छ।'

त्रिविवि आर्थिक विभाग प्रमुख डा. शिव अधिकारीले समाजलाई खण्ड खण्ड गरेर हेर्नुभन्दा समग्र रुपमा हेरिनुपर्नेमा चर्चा गर्दै भौतिक विज्ञान र आध्यात्मिक विज्ञान दुवै मानव जीवनका दुई खुट्टा भएकाले सँगसँगै प्रयोग गरेर जानुपर्ने आवश्यकता औँल्याए। 

पाटन संयुक्त क्याम्पसका प्राध्यापक बैकुण्ठ पाण्डेले कपितपय व्यक्तिले पूर्वजन्मदेखिको वा परम्परागत संस्कार लिएर आएको हुन्छ भने केही व्यक्तिले परिस्थितिअनुसार आफूलाई परिर्वत गरेर नयाँ संस्कार अवलम्बन गर्ने गरेको उल्लेख गरे। उनले भने, 'यस्तै परिस्थितिले आफूलाई पनि परिवर्तित बाटोमा हिँड्ने अवसर मिलेको छ।'

मानव धर्म सेवा समितिका युवा संयोजक उत्तम गिरीले आध्यात्मिक ज्ञानको अभावमा उच्च शिक्षा अध्ययन गरेका कतिपय युवा पतनको बाटोतिर गइरहेको पाइएको बताए। उनले  भौतिक ज्ञानका साथै आध्यात्मिक ज्ञानमार्फत प्रत्येक व्यक्तिले आफूलाई परिवर्तन गराउन सके भावी पुस्ताका लागि मार्ग प्रशस्त हुनेमा जोड दिए।

प्रकाशित मिति: १४:०८ बजे, बुधबार, भदौ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्