Kathmandu Press

को हुन् विश्वम्भरप्रसाद श्रेष्ठ?

०७० साल साउन ८ गते पुनरावेदन अदालत पोखराको निमित्त मुख्य न्यायाधीश हुँदै ०७१ भदौ १० गतेदेखि पुनरावेदन अदालत हेटौँडाको मुख्य न्यायाधीश बने।
को हुन् विश्वम्भरप्रसाद श्रेष्ठ?

काठमाडौं, भदौ ५ : ३१औँ प्रधानन्यायाधीशका रुपमा मंगलबारदेखि विश्वम्भरप्रसाद श्रेष्ठले कार्यभार समालेका छन् । सोमबार प्रधानन्यायाधीशमा नियुक्ति श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडलबाट मंगलदवार पद तथा गोपनियताको शपथ लिएपछि न्यायपालिकाको नेतृत्वका लागि मार्गप्रशस्त भएको हो।

०१६ असोज २० मा डोटीमा जन्मिएका श्रेष्ठले कानुनमा स्नातक र मानवशास्त्रमा स्नातकोत्तर गरेका छन्। ०३८ मा शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गरेका उनले ०४१ पुसमा स्थायी नियुक्ति पाएका थिए।

श्रेष्ठले ०४५ साल जेठ ३ गतेबाट न्यायाधीशका रुपमा दार्चुला जिल्ला अदालतमा काम प्रारम्भ गरे। विभिन्न जिल्लामा न्यायाधीश हुँदै ०६२ साल चैत १० गते तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त भए।

०७० साल साउन ८ गते पुनरावेदन अदालत पोखराको निमित्त मुख्य न्यायाधीश हुँदै ०७१ भदौ १० गतेदेखि पुनरावेदन अदालत हेटौँडाको मुख्य न्यायाधीश बने। २०७३ साल साउन १७ गतेदेखि सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएका थिए।

उनी ०८१ साल असोज १९ पछि अनिवार्य अवकाश लिने छन् । श्रेष्ठले करिव ४० वर्ष न्याय सेवामा व्यतित गरिसकेका छन् । उनले थाइल्याण्ड, दक्षिण कोरिया, पाकिस्तान, फिलिपिन्स र जापानको भ्रमण गरेका छन्। गोरखा दक्षिण बाहु तेस्रो र गोरखा दक्षिण बाहु चौँथोबाट विभुषित समेत भइसकेका छन्।

संसदीय सुनुवाईका क्रममा उनले न्यायाधीश, कर्मचारी आचारसंहिताको कार्यान्वयन एवं नियुक्ति, सरुवा र बढुवालगायत वृत्ति विकासमा कार्य सम्पादनस्तर, सदाचार र सेवाग्राहीसँगको व्यवहारलाई मुख्य आधार बनाइने, न्यायाधीशको आचरण, निष्ठालगायतका अनुशासनसम्बन्धी विषयलाई न्यायाधीशको नियुक्ति, सरुवा तथा पुरस्कार दण्डसँग आबद्ध गर्दै लैजानेलगायतका कार्ययोजना पेश गरेका थिए।

 

प्रकाशित मिति: १७:४७ बजे, मंगलबार, भदौ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्