औषधी बिक्रिवितरणको बेथिति हटाउन कठोर निर्णय लिन्छु : स्वास्थ्यमन्त्री बस्नेत
मन्त्री बस्नेतले औषधिजस्तो संवेदनशील विषयमा लापरबाही तवरले बिक्री वितरणले मानवीय स्वास्थ्यमाथि खेलबाड भइरहेकाले यस्तो बेथिति नियन्त्रणका लागि हदैसम्मको निर्णय लिने बताए।
काठमाडौं, भदौ ५ : स्वास्थ्यमन्त्री मोहन बस्नेतले औषधी बिक्रिवितरणमा देखिएको बेथिति हटाउन हदैसम्मको कठोर निर्णय लिने बताएका छन्।
औषधि व्यवस्था विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले औषधिजस्तो संवेदनशील विषयमा लापरबाही तवरले बिक्री वितरणले मानवीय स्वास्थ्यमाथि खेलबाड भइरहेकाले यस्तो बेथिति नियन्त्रणका लागि हदैसम्मको निर्णय लिने बताए।
मन्त्री बस्नेतले फार्मेसी सञ्चालन र भण्डारण पारदर्शी नभएको कतिपय औषधि कम्पनीले दर्ता र नवीकरण नगरेको र मापदण्डअनुरुप बिक्री वितरण नगरेको पाइएकाले मन्त्रालयले अनुगमन र नियमनको कामलाई प्रभावकारी बनाउने उल्लेख गरे।
त्यस्तै उनले दुई वर्षभित्र सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क उपलब्ध गराउने योजना रहेको बताए। मन्त्री बस्नेतले अहिले पनि देशभर गरिब, निमुखा र असहाय नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न आफू लागिपरेको जिकिर गरे।
उनले स्वास्थ्य क्षेत्रको बेथिति सुधार गरी जनतालाई सरल र सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारे।











