सरकार विद्युतबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री दाहालले आफूहरुको जोड धेरैभन्दा धेरै विद्युत् स्वदेशमा खपत गरी जनताको जीवनस्तर उकास्नेतर्फ सरकारको जोड दिएको स्पष्ट पारे।
चितवन, भदौ ५ : प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार विद्युत् उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लागेको बताएका छन्।
भरतपुर २२०÷१३२ केभीको सबस्टेसन र हेटौंडा–भरतपुरद्दबर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको स्पष्ट पारे।
उनले अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी विद्युत् व्यापारलाई प्राथमिकता दिएको बताए। उनले भने ‘हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत् खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ।’
उनले आफ्नो आसन्न चीन भ्रमणमा पनि विद्युत व्यापारको सम्भावना बारे छलफल हुने बताए। प्रधानमन्त्री दाहाले विद्युत विकासमा उत्पादन, प्रशारण र वितरणको नीति लिईनुपर्ने उल्लेख गरे।
प्रधानमन्त्री दाहालले आफूहरुको जोड धेरैभन्दा धेरै विद्युत् स्वदेशमा खपत गरी जनताको जीवनस्तर उकास्नेतर्फ सरकारको जोड दिएको स्पष्ट पारे। उनले विद्युत् क्षेत्रको विकासमा उत्पादन, प्रसारण र वितरणको नीति लिइनुपर्ने भन्दै विगतको तुलनामा विद्युत्को उत्पादन बढेको बताए।
नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो। हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो।











