सूचना टाँसेर संसद् स्थगित, बुधबार बस्ने
छानबिन आयोग गठनको विषयमा शीर्ष नेताहरूबीच सहमतिपत्रमा हस्ताक्षर हुन नसकेपछि प्रतिनिधिसभा बैठक स्थागित गरिएको हो।
काठमाडौं, भदौ ५ : मंगलबार ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थागित भएको छ। संसद् सचिवालयले सूचना टाँस गरेर बुधबारसम्मका लागि बैठक स्थगित गरेको हो।
सोमबारको सर्वदलीय बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउने सहमति भएपछि मंगलबार संसद चल्ने अपेक्षा गरिएको थियो । तर, छानबिन आयोग गठनको विषयमा शीर्ष नेताहरूबीच सहमतिपत्रमा हस्ताक्षर हुन नसकेपछि प्रतिनिधिसभा बैठक स्थागित गरिएको हो।
संघीय संसद्का महासचिव भरतराज गौतमले विशेष कारणले बैठक बस्न नसक्ने भन्दै सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ ९३० बमोजिम बैठक बुधबार दिउँसो ३ बजेसम्मकालागि बैठक स्थगित गरेको जानकारी दिए ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले करिब एक महिनादेखि संसद् अवरुद्ध पार्दै आएकोमा सोमबार रातिसम्म सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलहरूबीच छलफलपछि उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको थियो।
आयोग गठनको मस्यौदा तयार गरी मंगलबार दिउँसो शीर्ष नेताहरूले छलफलपछि सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी थियो । तर प्रधानन्यायधीशको शपथग्रहणका कारण मंगलबार शीर्ष नेताहरूको बैठक बस्न नसक्ने भएपछि सहमतिपत्रमा हस्ताक्षर रोकिएको छ।
बुधबार बिहान ११ बजे शीर्ष नेताहरूको बैठक बस्ने र सहमतिपत्रमा हस्ताक्षर हुने बताइएको छ।











