Kathmandu Press

सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले भने- संसद् अवरुद्ध हुँदा जनताका आवाज रोकिए

शितल निवालमा बसेको सर्वदलीय बैठकमा उनले जनताका यावत् समस्याहरूको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्ध हुँदा जनताका आवाज मुखरित हुने काम बन्द हुन्छ भन्ने सर्वत्र चिन्ता प्रकट भइरहेको बताए ।
सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले भने- संसद् अवरुद्ध हुँदा जनताका आवाज रोकिए

काठमाडाैं, भदाै ५ : राष्ट्रपति रामचन्द्र पौडेलले लामो समय संसद् अवरुद्ध हुँदा जनताका आवाज रोकिएको बताएका छन्।

शितल निवालमा बसेको सर्वदलीय बैठकमा उनले जनताका यावत् समस्याहरूको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्ध हुँदा जनताका आवाज मुखरित हुने काम बन्द हुन्छ भन्ने सर्वत्र चिन्ता प्रकट भइरहेको बताए ।

उनले सबै दलहरुको आपसी संवाद र प्रयत्नले सहमतिको नजिक पुगेको भन्ने खबरबाट आफूलाई सन्तोष मिलेको उनले बताए।

‘यो सहमतिको प्रयत्नले तत्काल सार्थकता पाएर अवरुद्ध संसद् सञ्चालन हुनेछ भन्ने मैले विश्वास लिएको छु। ‘यदाकदा दलहरुबीच विवाद, द्वन्द्व र तिक्तता देखापर्ने गरे पनि राष्ट्रिय स्वार्थ र हितका लागि वार्ता, संवाद र छलफलबाट निकासमा पुग्नुपर्छ,’ उनले भने,  ‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो । नेपालका राजनीतिक दलहरूले विगतमा विषम परिस्थितमा पनि संवादकै माध्यमबाट समस्या सुल्झाएका कैयौं उदाहरणहरू हाम्रासामु छन्।’

बैठकमा राष्ट्रपतिले आफूलाई नेपालको संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको बताए। उनले भने, ‘अहिले आएर कता कता हाम्रो संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको छ । यसले गर्दा शक्तिपृथकीकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हामी हिँड्न सकेका छौं कि छैनौं भनेर पनि सोच्नुपर्ने बेला भएको छ।’

सत्य निरुपण, बेपत्ता तथा मेलमिलापसम्बन्धी कानुनी विषय अझै टुंगोमा पुग्न नसकेको र यो विषय टुङ्ग्याउन सकिएन भने जनताले खोजेको शान्तिको चाहना पूरा हुन नसक्ने राष्ट्रपति पौडेलले बताए ।

आजको संसद् बैठक अगाडि उनले शीर्ष दलका नेताहरूलाई शीतल निवासमा डाकेका हुन्। तर, राष्ट्रपतिले आव्हान गरेको बैठकमा एमाले नेताहरु भने सहभागी भएनन्।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता प्रदीप यादव, जनमत पार्टीका अब्दुल खाँलगायत सहभागी थिए।

प्रकाशित मिति: १०:५५ बजे, मंगलबार, भदौ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्