सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउने दलहरुबीच सहमति, सदनकाे अवराेध हट्याे
सोमबार राति प्रधानमन्त्री निवासमा भएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेको माग अनुसार उच्चस्तरीय समिति बनाउने दलहरु सहमत भएका हुन्।
काठमाडौं, भदौ ४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १ क्विन्टल सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति बनाइने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आव्हाव गरेको सर्वदलीय बैठकमा दलहरुबीच सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउने सहमति भएको हो। सोमबार राति प्रधानमन्त्री निवासमा भएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेको माग अनुसार उच्चस्तरीय समिति बनाउने दलहरु सहमत भएका हुन्।
दलहरुबीचको यो सहमतिसँगै साउन १० गतेदेखि सुरु भएको दुवै सदनको गतिरोध पनि अन्त्य भएको छ।
दलहरुबीच उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जनकारी दिए।
उनका अनुसार छानबिन समितिको भोलिसम्ममा ड्राफ्ट गर्ने र त्यसका लागि कार्यविधि बनाउन समिति गठन गरिएको छ। समितिमा एमालेका सुवास नेम्बाङ, माओवादीका हितराज पाण्डे र नेपाली कांग्रेसका रमेश लेखक रहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका अनुसार भोलिसम्म कार्यादेशको मस्यौदा तयार पार्ने गरी दलहरुबीच सहमति जुटेको छ।
यस्तै, कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने उच्चस्तरीय छानबिन समिति गठनका विषयमा मंगलबारसम्म टुंगो लाग्ने र मंगलबार संसद चल्ने बताए।
बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभापति पूर्णबहादुर खड्का, एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा सभापति रवि लामिछाने, राप्रपा उपाध्यक्ष विक्रम पाण्डेलगायतका नेता सहभागी थिए।











