संविधानको हुर्मत लिएर विश्वासको मत लिन खोजियो : एमाले
विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै कोशी प्रदेशमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमालेले यसलाई सामान्य रूपमा नलिने बताए।
मोरङ, भदौ ४ : कोशी प्रदेशमा संविधान र कानुनको हुर्मत लिएर गैरसंवैधानिक रूपमा विश्वासको मत लिन खोजे आरोप एमालेले लगाएको छ।
विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै कोशी प्रदेशमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमालेले यसलाई सामान्य रूपमा नलिने बताए।
उनले उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापालाई विश्वासको मत लिने सम्पूर्ण व्यवस्था मिलाएर स्वास्थ्योपचारका लागि काठमाडौंस्थित गंगालाल हृदय रोग प्रतिष्ठानमा भर्ना भएको अवस्थामा कसैको स्वास्थ्य संवेदनशीलता प्रति प्रश्न उठाउनु उपयुक्त नभएको भन्दै प्रश्न उठाए।
‘उपसभामुखको स्वास्थ्य अवस्थामाथि अनुचित लान्छना लगाइयो, उहाँ गंगालाल हृदयरोग केन्द्रमा उपचार गराइरहेको कुरा हामीले फेसबुकमा देखेका छौं । तपाईहरुसँग बसेर सारा प्रमाण पेश गरेमा माफी माग्नुहुुन्छ,’ भण्डारीले प्रश्न भने, ‘कसैको स्वास्थ्य संवेदनशीलतामा हल्का टिप्पणी गर्नु उचित हुँदैन।’
छलफलमा माओवादीका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एसका नेता राजेन्द्रकुमार राईले उपसभामुख दनुवारले बिरामी भएको नाटक मञ्चन गरेको भन्दै प्रश्न उठाएका थिए।











