Kathmandu Press

‘कर्णाली मुलुक समृद्धिको मुहान बन्नसक्छ’

उनले कर्णालीको जल, जमिन, पर्यटन, जडीबुटी, भेषभुषा, भाषा संस्कृतिमा अपार सम्भावना रहेको भन्दै मुलुक समृद्धिको मुहान भएको बताए।
‘कर्णाली मुलुक समृद्धिको मुहान बन्नसक्छ’

सुर्खेत, भदौ ४ : प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली मुलुक समृद्धिको मुहान बन्नसक्ने बताएका छन्।

कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्णालीको जल, जमिन, पर्यटन, जडीबुटी, भेषभुषा, भाषा संस्कृतिमा अपार सम्भावना रहेको भन्दै मुलुक समृद्धिको मुहान भएको बताए।

‘कर्णाली एउटा सभ्यता हो, यो मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ,’ उनले भने, ‘कर्णाली प्रदेशले निर्धारण गरेको विकास, पूर्वाधार र परिवर्तनको लक्ष्य, कर्णालीको मूल्यवान उत्पादनले मुलुक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नसक्छ भन्ने देखाउँछ।’

प्रदेश सरकारको कृषक प्रोत्साहन कार्यक्रम, ‘कर्णालीले जे बेच्छ, मूल्यवान उपज बेच्छ’ जस्ता नारा र कर्णाली समृद्धि अभियानजस्ता कार्यक्रमबाट आफू उत्साहित भएको प्रधानमन्त्री दाहालले बताए।

प्रधानमन्त्री दाहालले कर्णालीका कच्ची र कमजोर सडक पूर्वाधारले दुर्घटनाको जोखिम बढाएको, बेरोजगारी र अभावले हजारौं युवा मुग्लान पसिरहेको, जाडोयाममा मयल पोसेको पातलो कपडा लगाइ शिक्षा लिन दुई घण्टासम्म नानीबाबु हिँड्ने दृश्य राम्रोसँग बुझेको र महसुस गरेको बताए।

उपचार नपाउँदा गर्भवतीको अकालमा ज्यान जाने गरेको भयावह स्थिति, कर्णालीको गरिबी, पछ्यौटेपन र भूगोलबारे पनि राम्रोसँग बुझी यही क्षेत्रको आन्दोलनको नेतृत्वसमेत गरेको उनले जिकिर गरे।

प्रधानमन्त्रीले सहिदहरुले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा देखेको सुन्दर, समृद्ध र समतामूलक समाज निर्माणको सपनालाई साकार पार्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत गरे।

प्रकाशित मिति: १७:२१ बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्