Kathmandu Press

गिरीका विचार समस्या पर्दा अझ १५-२० वर्ष कांग्रेसलाई काम लाग्छ : महामन्त्री थापा

'उहाँले भन्नुभएका कुरालाई सिलसिलाबद्ध मिलाएर उहाँले बताउन खोज्नुभएको, भन्न खोज्नुभएको कुरालाई कम्तीमा पनि अर्को १५/२० वर्षका निम्ति समस्या परेको बेलामा त्यसले कांग्रेसलाई सम्बोधन गर्नेछ’
गिरीका विचार समस्या पर्दा अझ १५-२० वर्ष कांग्रेसलाई काम लाग्छ : महामन्त्री थापा

काठमाडाैं, भदाै ४ : कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेसका पछिल्लो पुस्ताहरुलाई स्वर्गीय प्रदीप गिरीले हात समाएर साथ दिएको स्मरण गरेका छन्।

सोमबार पार्टी कार्यालय सानेपामा समाजवादी चिन्तक, लेखक एवं कांग्रेसका निष्ठावान त्यागी नेता प्रदीप गिरीको पहिलो वार्षिकीमा आयोजित स्मरणसभामा उनले गिरिका संग्रहलाई प्रकाशन गरेर कांग्रेसमा आएका नयाँ पिढीलाई ज्ञान प्रदान गर्नुपर्नेमा जोड दिए। क्यान्सरपीडित गिरीको उपचारका क्रममा एक वर्षअघि भाद्र ४ गते निधन भएको थियो। गिरिले एक दर्जनभन्दा बढी पुस्तक लेखेका छन्।

'उहाँले यति धेरै कुरा बोल्नु, लेख्नुभएको छ, उहाँका फुटकर लेखहरु, रचनाहरु, यो सबैकुरालाई पार्टीबाट प्रकाशन गर्नुपर्छ, जम्मा गर्नुपर्छ र उहाँले भन्नुभएका कुरालाई सिलसिलाबद्ध मिलाएर उहाँले बताउन खोज्नुभएको, भन्न खोज्नुभएको कुरालाई कम्तीमा पनि अर्को १५/२० वर्षका निम्ति समस्या परेको बेलामा त्यसले कांग्रेसलाई सम्बोधन गर्नेछ,’ थापाले भने। 

प्रदेशको नामकरणको विषयमा गिरीले दिएको विचारसँग नेपाली कांग्रेस सहमत हुन सके सामाजिक द्वन्द्व हटाउन सकिने थापाले बताए। ‘म झापा र इलाम गएर आएँ। त्यहाँ प्रदेश १ को नामाकरण ठूलो विषय छ। तर प्रदीप गिरीले संविधान निर्माणको बेलामा राख्नुभएको विचारलाई मात्रै हेर्ने हो भने खास गरी हाम्रो नेपालको संघीयतालाई अघि बढाउने विषयका सन्दर्भमा उदारतापूर्वक नेपाली काँग्रेस जस्तो मुल राजनीतिक पार्टीले नामाकरण जस्तो विषय गर्दैगर्दा पहिचानको कुरालाई प्राथमिकता दिएर गर्नुपर्छ। यदि यसलाई गर्‍यौँ भने हामीले समाजको द्वन्द्वलाई चिर कालसम्म मेट्न सक्छौँ भन्नेकुराको प्रेरणा प्रदीप दाईको भनाइबाट पाउन सक्छौँ। नेपाली काँग्रेसलाई बदल्ने हो, काँग्रेसको सदस्य बदल्ने, उम्मेदवार छनोट प्रक्रिया बदलेर पार्टीलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा अघि जानुपर्छ।’

प्रकाशित मिति: १४:१० बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्