तस्बिरमा नागपञ्चमी
आजको दिनमा घरको मूल ढोकामाथि नागको तस्वीर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरी दुःख नपाइने धार्मिक विश्वास छ।
काठमाडौं, भदौ ४ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्बिर टाँसी र नागको पूजाआराधना गरेर मनाइँदैछ।

आजको दिनमा घरको मूल ढोकामाथि नागको तस्वीर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरी दुःख नपाइने धार्मिक विश्वास छ। साथै चट्याङ, अग्निभय र मेघका कारणसमेत पीडित हुनुनपर्ने भन्ने कुरा बराहलगायतका पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए। नाग रिसाए पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो।

आजको दिन काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत नेपालभरका नागदह, नागकुण्ड र नागस्थानहरुमा नागको पूजाआराधना गरी मेला लाग्ने गर्छ। पशुपतिस्थित वासुकी मन्दिरमासमेत विशेष पूजाआजा गर्ने गरिएको छ।
आज नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानहरुले आराम गर्ने गर्दछन्। आजको दिनमा खनजोत गरेमा नाग मारिन्छन् भन्ने धार्मिक विश्वास छ। घर, खेत, बारीमा पनि नागले बास गर्छन् भन्ने वैदिक मान्यता छ। यसै मान्यताका आधारमा खेत बारीमा नागस्थान बनाई पूजा गरिन्छ।

नागका बाह्र नाम रहे पनि अनन्त, वासुकी, पद्म, महापद्म तक्षक, कुलीर, कर्कट र शंख गरी अष्ठनागको पूजा गर्ने चलन रहेको छ।
नागपञ्चमीका दिन विधिपूर्वक पूजाआजा गरी घरको मूल ढोकामा नाग टाँसेमा वर्षभर विद्युत, अग्नि, सर्प, चट्याङ लगायतको भय नहुने धार्मिक विश्वास रहेकाले विधिपूर्वक नागको पूजाआजा गरी तस्वीर टाँस्ने गरिएको प्रा.डा. भट्टराईले बताए।























