Kathmandu Press

कोशी प्रदेशसभा : बैठक सञ्चालनको जिम्मा मन्सुरीलाई

उपसभामुख दनुवारले कोशी प्रदेश सचिवालयमार्फत मन्सुरीलाई उक्त जिम्मेवारी दिएकी हुन्। 
कोशी प्रदेशसभा : बैठक सञ्चालनको जिम्मा मन्सुरीलाई

विराटनगर, भदौ ४ : कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिएकी छन्। उपसभामुख दनुवारले कोशी प्रदेश सचिवालयमार्फत मन्सुरीलाई उक्त जिम्मेवारी दिएकी हुन्। 

उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गरेकी छन्। 

कोशी प्रदेशसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार जना सदस्य तोकिएको थियो । जसमा ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बूले भदौ १ गते अनुपस्थित हुने सूचना दिइसकेकी छन् भने वर्णानुक्रमअनुसार रहेका अम्बरबहादुर बिस्टले पनि भदौ १ गते नै सोही व्यहोराको सूचना दिएका छन्। सोही कारण मन्सुरीलाई  बैठकको अध्यक्षता गर्नका उपसभामुख दनुवारले पत्र लेखेकी हुन्। 

यसैबीच प्रदेशसभाको आजको बैठकमा नेकपा एमालेका तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी, रोहितबहादुर कार्की, रामप्रसाद महतो र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपालबहादुर विश्वकर्माले पनि बिदामा बस्ने प्रदेशसभा सचिवालयमा जानकारी गराएको प्रदेश सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

मन्सुरी नेपाली कांग्रेसको तर्फबाट सुनसरी ४ (२) बाट निर्वाचित भएका हुन् । उपसभामुख बिदामा बसेको बेला अव प्रदेशसभा मन्सुरीले सञ्चालन गर्नुपर्नेछ ।

प्रकाशित मिति: १२:४३ बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्