उपसभामुखकाे अनुपिस्थतिले मुख्यमन्त्री थापाले विश्वासको मत लिने बैठक अन्योलमा
मुख्यमन्त्रीको रूपमा थापा साउन १६ गते नियुक्त भएका थिए । ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुरुप उनले विश्वासको मत पाउन शुक्रबार नै प्रदेशसभामा दर्ता गराइसके पनि कार्यसूची तय हुन सकिरहेको छैन।
विराटनगर, भदाै ४ : मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनले डाकिएको आजको प्रदेशसभा बैठक अन्योलमय बनेको छ। मुख्यमन्त्रीको रूपमा थापा साउन १६ गते नियुक्त भएका थिए।
३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुरुप उनले विश्वासको मत पाउन शुक्रबार नै प्रदेशसभामा दर्ता गराइसकेर आजका लागि बैठक डाकिए पनि कार्यसूची तय हुन सकिरहेको छैन।
उपसभामुख सिर्जना दनुवार अनुपस्थित हुने भएपछि सोमबार बिहान बोलाइएको कोसी प्रदेशसभा कार्य व्यवस्था समिति बैठक सवा १२ बजेका लागि सारिएको छ। बैठकको अध्यक्षता गर्ने व्यक्ति नै अनुपस्थित भएपछि बैठक सारिए पनि हुने नहुने टुंगो छैन। उपसभामुख बिरामी भएको बताउँदै उपचारका लागि काठमाडौं लागेको जनाइएको छ।
कार्य व्यवस्था परामर्श समितिको बैठक बस्न नसकेपछि प्रदेशसभाको कार्यसूची नै बन्न नसकेको बताइएको छ। कार्यसूचीसमेत तय नहुँदा सभा चल्ने या नचल्ने कुनै ठेगान छैन। आइतबारलाई मागिएको समय उपसभामुख दनुवारले फेरबदल गरी सोमबारका लागि तोकेकी थिइन्।
अंक गणितअनुसार हेर्दा उपसभामुखले सभा सञ्चालन नगरेको अवस्थामा अध्यक्ष मण्डलमा रहेका एमाले या राप्रपाका प्रदेशसभा सदस्यहरूले सभा सञ्चालन गरे मात्रै थापाले विश्वासको मत पाउनेछन्। मुख्यमन्त्री थापासँग ४७ सदस्य छन् । ४७ मध्ये अध्यक्ष मण्डलमा रहेका कसैले सभा सञ्चालन गर्नुपरे उनलाई ४६ जनाले मात्रै विश्व सको मत दिन पाउनेछन्। यस्तो अवस्थामा उनी विश्वासको मत पाउन नसक्ने अवस्थामा पुग्छन्।
थापालाई विश्वासको मत लिनबाट रोक्न राप्रपा र एमोलका ९ जना ज्येष्ठ सदस्य हिजै बिदामा बसिसकेका छन्। कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सत्ता गठबन्धनलाई बहुमत पुर्याउन साउन १६ गते राजीनामा दिएका थिएर आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन्।











