ललिता निवास जग्गा प्रकरणमा सिआईबीले लियो बाबुरामसँग बयान
आइतबार साँझ सीआईबीका अधिकारीहरूलाई आफ्नो निजी निवास टोखा बोलाएर डा. भट्टराईले आफूबारे उठेको प्रश्नहरूबारे बताएको जानकारी दिएको बताएका छन्।
काठमाडौं, भदौ ४ : बालुवाटारस्थित ललिता निवास जग्गा हिनाहिना प्रकणमा प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सिआईबी)ले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग बयान लिएको छ।
ललिता निवास प्रकरणमा बारे आफूले सिआईबीलाई जानकारी दिएको डा.बाबुरामले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
आइतबार साँझ सीआईबीका अधिकारीहरूलाई आफ्नो निजी निवास टोखा बोलाएर डा. भट्टराईले आफूबारे उठेको प्रश्नहरूबारे बताएको जानकारी दिएको बताएका छन्।
‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरू बारे सत्यतथ्यको जानकारी मेरो सुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम सीआईबीलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना पनि गरेका छन्।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सीआईबीले संगठित अपराध निवारण ऐन २०७० र मुलुकी ऐन २०२० को कीर्ते सम्बन्धी कसुर लगाएर अनुसन्धान गरिरहेको छ।
५ माघ २०६९ मा मालपोत कार्यालय, डिल्लीबजारले ललितानिवासभित्र रहेको ६० आना जग्गा पशुपति टिकिन्छा गुठीका नाममा दर्ता गर्ने निर्णय गरेको थियो । डा. भट्टराई नेतृत्वको तत्कालीन मन्त्रिपरिषदले यसबारेमा सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो । त्यसैले उनी पनि यो प्रकरणमा जोडिएका हुन् ।











