ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसँग सिआइबीले लियाे बयान
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत नेपालसँग आइतबार राति बयान लिएको जनाइएको छ।
काठमाडौं, भदौ ४ : ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत नेपालसँग आइतबार राति बयान लिएको जनाइएको छ।
आइतबार राति नै सिआईबीले नेपा समाजवादी पार्टीका अध्यक्षसमेत रहेका अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि बयान लिएको थियो।
सिआइबीले अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहँदा पूर्वप्रधानमन्त्रीसँग पनि बयान लिएर कागज गरेको हो। नेपाल र भट्टराईसँग बयान नलिएर सिआइबीले आइतबार ललिता निवास जग्गा प्रकरणबारे जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेकाे थियाे।
मन्त्रिपरिषद्बाट निर्णय गराउने मुख्य व्यक्तिसम्मै अनुसन्धान गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगर्दा अवहेलनाको मुद्दा लाग्न सक्ने भन्दै नेपाल र भट्टराईसँग बयान नगरी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन नसकिने अडान सिआईबीका अधिकारीहरूले लिएका थिए । यसकारण प्रतिवेदन बुझाउनुअघि पूर्वप्रधानमन्त्रीद्वयसँग बयान लिइएको स्राेतकाे भनाइ छ।
नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने र बाहिरको जग्गा पर्खालभित्र पार्दा त्यहाँ रहेका मोहीलाई सट्टा भर्नामा जग्गा दिने निर्णय भएको थियो। निर्णय कार्यान्वयन हुँदा प्रधानमन्त्री निवासमा २७ रोपनी ७ आना २ पैसा १ दाम जग्गा थपिनुपर्ने भए पनि त्यसाे हुन सकेन।
मन्त्रिपरिषदले नै सरकारी जग्गामा हुँदै नभएको मोही खडा गरेर उनीहरुलाई अन्यत्र व्यवस्थापन गर्ने भनी निर्णय गरेकाे देखिन्छ। बालुवाटारको पर्खालभित्र थपिनुपर्ने जग्गाको करिब आधा हिस्सा मोहीका नाममा सारेर ‘भूमाफिया’को कब्जामा गएको अनुसन्धान अधिकृतहरुले निष्कर्ष निकालेका छन्।
सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णयमाथि समेत अनुसन्धान गर्न आदेश दिएपछि तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुलेको थियो।











