जनमत पार्टीले मन्त्रीसहित ४ प्रदेश सांसदलाई फिर्ता बोलाउने
मधेश प्रदेशमा श्रम तथा यातायातमन्त्री रहेका महासचिव चन्दन सिंहसँगै प्रदेश सांसदहरु त्रिभुवन साह, भाग्यश्रीकुमारी चौधरी र अनिताकुमारी साहलाई फिर्ता बोलाउन लागेको हो।
काठमाडौं, भदौ ३ : जनमत पार्टीले महासचिव तथा मधेश प्रदेशका मन्त्री चन्दन सिंहसहित प्रदेश सांसद फिर्ता बोलाइने तयारी गरेको छ।
‘राइट टु रिकल’लाई राजनीतिक मुद्दा बनाउँदै आएको जनमतले पार्टी सदस्यहरूबाट मतदान गराउँदा ५० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउने नियम अनुसार उनीहरुलाई फिर्ता बोलाउन तयारी सुरु गरेको हो ।
मधेश प्रदेशमा श्रम तथा यातायातमन्त्री रहेका सिंहसँगै प्रदेश सांसदहरु त्रिभुवन साह, भाग्यश्रीकुमारी चौधरी र अनिताकुमारी साहलाई फिर्ता बोलाउन लागेको हो।
जनमत पार्टी निर्वाचित पदाधिकारीको कार्यसम्पादन राम्रो नभए बीचमै फिर्ता बोलाउने व्यवस्थाको पक्षमा छ। पार्टीले सांसदहरुको निर्वाचन क्षेत्रमा कार्यकर्ताहरु माझ शनिबार मतदान गराएको थियो। गत मंसिरमा आमनिर्वाचनमा पहिलो पटक भाग लिएको जनमतका मधेश प्रदेशमा १३ र लुम्बिनीमा ३ गरी १६ संसद छन्।
‘हाम्रो पार्टीको विधानमा राइट टू रिकलको व्यवस्था गरिएको छ। त्यसैअनुसार, आन्तरिक मतदान गरिएको हो’ केन्द्रीय सचिव बीपी साहले भन्े, ‘मतदानमा जसको मत ५० प्रतिशत भन्दा कम आएको छ उहाँहरुमाथि पार्टीले छानबिन प्रक्रिया अघि बढाउँछ।’ उनका अनुसार, पार्टी महासचिव चन्दनकुमार सिंह समेत आन्तरिक मूल्याकंनमा असफल भएका छन्।
जनमतले गराएको मतदानमा मधेश प्रदेशमा सांसदले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रको पार्टीबाट निर्वाचित वडाध्यक्ष, वडाध्यक्षका प्रत्यासी, गाउँपालिकाको पदाधिकारी, पालिका प्रत्यासी, जिल्ला परिषदका सदस्यहरु, सो निर्वाचन क्षेत्रमा रहेको प्रदेश कमिटीका सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्यहरु मतदाता थिए।
महासचिव सिंहले खसेको ४६ मतमध्ये १४ मात्रै प्राप्त गरे । उनको विपक्षमा २८ मत खस्यो । त्यसैगरी सोही क्षेत्रकी अनिताकुमार साहको विपक्षमा २३ र पक्षमा १४ मत पर्यो । १ सय १ मत खसेकोमा प्रदेश सांसद त्रिभुवन साह र भाग्यश्री चौधरीको विपक्षमा ७९(७९ मत पर्यो भने पक्षमा क्रमशः २० र २१ मत परेको छ।











