सभामुखले बोलाएको प्रमुख सचेतकहरुको बैठक निष्कर्षविहीन
बैठकपछि कांग्रेस सचेतक सुशीला थिङले अवरुद्ध सदन चलाउन निकास निकाल्न छलफल भए पनि दलहरुले आफ्नो अडान कायमै राखेको बताइन्।
काठमाडाैं, भदाै ३ : सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुको छलफल निष्कर्षविहीन भएको छ।
सिंहदरबारमा बसेको बैठकमा सचेतहरुले आ–आफ्ना दलका अडान राखेपछि बैठक निष्कर्षविहीन भएको हो। बैठकपछि कांग्रेस सचेतक सुशीला थिङले अवरुद्ध सदन चलाउन निकास निकाल्न छलफल भए पनि दलहरुले आफ्नो अडान कायमै राखेको बताइन्।
त्यस्तै सदनमा कांग्रेस सांसद सुनिल शर्माको अभिव्यक्तिलाई रेकर्डबाट हटाउने वा नहटाउने भन्ने विषयमा पनि मतभेद कायमै रहेको उनले बताए। बैठकमा सभामुख घिमिरेले समितिको नेतृत्व चयन प्रक्रिया बाँकी रहेकाले सदनको अवरोध हटाउन निरन्तर पहल गर्ने बताउनुभएको सचेतक थिङले जानकारी दिइन्।
बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी थिए। यतिखेर राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसिरहेको छ।











