सदन खुलाउने विषयमा राष्ट्रिय दलका शीर्ष नेताको छलफल सिंहदरबारमा जारी

काठमाडाैं,भदाै ३ : राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक सुरु भएको छ।
बैठकमा संसद अवरोध खुलाउनेलगायत विषयमा छलफल हुने बताइएकाे छ। साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुनलाई लिएर एमालेले साउन १० गतेदेखि सदन अवरूद्ध पार्दै आएको छ।
राजस्व अनुसन्धान विभागले बरामद गरेको उक्त सुनका बारेमा सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्नेमाग एमालेले राख्दै आए पनि सत्तारूढ दल सहमत भएका छैनन्।
सोही विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीको बैठक बोलाएका हुन्।
प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिए पनि सञ्चालन हुन सकेको छैन।











