संसद्को गतिरोध अन्त्यबारे छलफल गर्न प्रधानमन्त्री दाहालले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्री दाहालले संसद्मा रहेको अवरोध खुलाउनेबारे सर्वदलीय बैठक बोलाएर समाधानका लागि पहल गर्न लागेका हुन्।
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन्।
संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे १२ बजे बस्ने छ।
प्रधानमन्त्री दाहालले अवरुद्ध संसद् खुलाउने विषयमा राष्ट्रिय मान्यताप्राप्त दलहरुसँग छलफलका लागि आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री दाहालले संसद्मा रहेको अवरोध खुलाउनेबारे सर्वदलीय बैठक बोलाएर समाधानका लागि पहल गर्न लागेका हुन्। यसअघि सत्ता गठबन्धनले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग संवाद गरेर सदन खुलाउन पहल गर्ने जिम्मेवारी प्रधानमन्त्री दाहाललाई दिएको थियो।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएका थिए।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ। त्यसयता संसद्का दुवै सदन चल्न सकेका छैनन्।
प्रतिनिधिसभा बैठक आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ।











