‘माओवादी सशस्त्र विद्रोह बारे ओलीको अभिव्यक्ति घृणास्पद’
उनले ओलीले मिल्दा तत्कालीन माओवादी सशस्त्र विद्रोहलाई महान् भन्ने गरेको र नमिल्दा हत्यारा र आतंककारी भन्ने गरेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको बताए।
काडमाडौं, भदौ २ : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्ति घृणास्पद रहेको बताएका छन्।
शनिबार आयोजित ‘२०२८ : झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले आफूलाई नेपालको कम्युनिष्ट पार्टीहरुको इतिहासबारे ओलीले दिने अभिव्यक्ति विभत्स, डरलाग्दो र घृणास्पद लाग्ने गरेको बताए।
उनले ओलीले मिल्दा तत्कालीन माओवादी सशस्त्र विद्रोहलाई महान् भन्ने गरेको र नमिल्दा हत्यारा र आतंककारी भन्ने गरेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको बताए। ओलीको कम्युनिष्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको पनि बताए।
‘हाम्रो राजनीतिक नेतृत्वमा कमरेड ओलीलगायत अरु कतिपय साथीहरुले पनि इतिहासको बारेमा जसरी बोल्छन्। स्वयं माओवादी आन्दोलन, जनयुद्धको बारेमा जे बोल्छन्,’ उनले भने, ‘हिजो सहमति, असहमति जे थियो होला, तर राज्यले त्यसलाई के भनेर मान्यो, सबै सहमति भएर हामी अगाडि बढेका घटनालाई आज फर्केर हेर्दाखेरी जतिखेर मिलिन्छ, त्यतिखेर चाहिँ यो महान् कुरा थियो भन्ने जतिखेर मिलिदैन, त्यतिखेरचाहिँ यो हत्यारा, आतंककारी आदि, इत्यादि भन्ने त्यो राजनीतिमा इतिहास चेतको विभत्स, डरलाग्दो र असाध्यै घृणास्पद भन्छु म चाहिँ।’











