कांग्रेसका भ्रातृ संगठन चलायमान बनाउनतिर लाग्छु : महामन्त्री थापा
इलाममा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आज उनले पार्टीको सबैभन्दा पहिलो जग नै भ्रातृ तथा शुभेच्छुक संस्था भएकाले यसलाई चलायमान बनाउनुपर्नेमा जोड दिए।
मंगलबारे, भदौ २ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका भ्रातृ संगठन तथा शुभेच्छुुक संस्था चलायमान बनाउनतिर आफू लाग्ने बताएका छन्।
इलाममा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आज उनले पार्टीको सबैभन्दा पहिलो जग नै भ्रातृ तथा शुभेच्छुक संस्था भएकाले यसलाई चलायमान बनाउनुपर्नेमा जोड दिए।
केही शुभेच्छुक संस्थाको जिल्ला तथा केन्द्रीय महाधिवेशन भइसके पनि भ्रातृ सङ्गठनहरुको महाधिवेशन गराउन पार्टीले पहल गर्नुपर्ने उनको भनाइ छ। यसमा आफ्ना तर्फबाट आफू लाग्ने र आफ्नो ठाउँबाट सबै लाग्न जरुरी रहेको उनको भनाइ छ।
नेपाली कांग्रेस विधानअनुरुप चलेमा र अवसरको सदुपयोग गरेर अगाडि बढ्न सके अझ धेरै ठूला एवम् थुप्रै अवसर आउने उनको भनाइ छ। उनले कांग्रेस आफैँ सक्षम भएका कारणले पनि आगामी चुनावमा एक्लै जाने आँट गर्नुपर्ने बताए।
कांग्रेसका नेतृत्वमा जितेका स्थानीय तह तथा प्रदेश सरकारले जनताको कामलाई प्राथमिकताका साथ गर्न सके पनि आगामी चुनाव जित्न सहज हुने उनको भनाइ छ। नेपाली कांग्रेस इलाम नगरपालिकाको नगर सम्मेलन उद्घाटन गर्न इलाम आउनुभएका उहाँले शुक्रबार सूर्योदय नगरपालिकाको फिक्कलमा समेत कार्यकर्ता भेटघाट गरेका थिए।











