Kathmandu Press

छानिबन समितिभन्दा सिआइबीबाटै सुन काण्डका दोषी पत्ता लाग्छन् : गृहमन्त्री श्रेष्ठ

छानिबन समितिभन्दा सिआइबीबाटै सुन काण्डका दोषी पत्ता लाग्छन् : गृहमन्त्री श्रेष्ठ

पोखरा, भदौ २ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानिबन सिमित बनाएर भन्दा सिआइबीबाटै सुन काण्डका दोषी पत्ता लाग्ने दाबी गरेका छन्। 

प्रेस सेन्टर नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राज्यले संस्थागत रुपले अनुसन्धानकै लागि भनेर निर्माण गरिएका संरचना, संयन्त्रहरुलाई काम गर्न दिनुपर्ने बताए।

‘छानबिन समितितिर जानुभन्दा पेसागत रुपमा यसकै लागि विकासित गरिएका जसले अनुसन्धान र अभियोजन दुईवटै अगाडि बढाउन सक्छन्, त्यहीँबाट दोषी पत्ता लगाउने कार्य गर्नुपर्छ,’ उनले भने। सिआइबीले अनुसन्धान अगाडि बढाउँदा दोषीहरु पत्ता लाग्ने र तिनीहरुलाई कानुनको दायरमा ल्याउन सक्ने दाबी श्रेष्ठले गरे।

‘यससघि यस्तै काण्डमा संसद्बाट समिति बनाइएयो, समितिको  रिपोर्ट आयो, सिद्धियो, अर्को एकपटक केपी ओली प्रधानमन्त्री भएका बेला ३३ किलो सुन काण्डका लागि छानबिन समिति बनाइयो, समितिको रिपोर्ट आयो अन्य केही पनि आएन, न सुन आयो, न सिफारिस कार्यान्वयन भयो, त्यसैले हामीले अनुसन्धानका लागि विकसित गरेका हाम्रा दक्ष संरचनाले अनुसन्धान र अभियोजनको दुवै प्रक्रिया अघि बढाउँछ, त्यसैलाई नै जिम्मेवारी दिनु उपयुक्त हुन्छ,’ उनले भने।

उपप्रधानमन्त्री श्रेष्ठले सुशासन र भ्रष्टाचार विरुद्धको अभियान अघि बढाउने प्रक्रियाले निरन्तरता पाइरहेका बेलामा प्रमुख प्रतिपक्षी दलबाट संसद् अवरोध हुनु दुःखद भएको उल्लेख गरे। उनले सरकारको अभियानमा सबै पक्षले साथ र सहयोग गर्नु आवश्यक रहेकामा जोड दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण सुरक्षा र व्यवस्थापनलाई समीक्षा गरेर नयाँ नीति तथा योजनाअनुसार अगाडि बढाइने उनले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धन सरकारलाई अझै व्यवस्थित गरेर निरन्तरता दिइने बताए। 

उनले भने, ‘सरकारले चालेको कदम कुनै पनि हालतमा विश्राम हुँदैन, गठबन्धनको सरकारलाई पनि अझ व्यवस्थित ढङ्गले अगाडि बढाउने, निरन्रता दिने र सरकारले अहिले चालेको सुशासनको अभियान जुन समृद्धिका आधारका लागि गरिरहेका छौँ, त्यसलाई पनि निरन्तरा दिने गरी अघि बढेका छौं।’ 

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले पार्टीले तय गरेको रुपान्तरण अभियानको तयारीका लागि हाल देशभर पार्टीका बैठक सञ्चालन भइरहेका जानकारी दिए। उहाँ पार्टीको गण्डकी प्रदेशको सातौँ पूर्ण बैठकका लागि बिहान पोखरा आएका हुन्। 

प्रकाशित मिति: १३:४३ बजे, शनिबार, भदौ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्