Kathmandu Press

सकियो नेपथ्यको जापान यात्रा

गायक अमृत गुरुङको नेतृत्वमा नेपथ्य टोलीले मञ्च प्रवेश गर्नासाथ पहिलो गीत ‘कोशीको पानी यो जिन्दगानी’ प्रस्तुत गरेको थियो।
सकियो नेपथ्यको जापान यात्रा

काठमाडाैं, भदौ १ : आर्थिक महानगर ओशाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुती दिएसँगै लोकरक ब्याण्ड नेपथ्यले यो वर्षको श्रृंखलावद्ध जापान यात्रालाई विश्राम दिएको छ। अघिल्ला दुई सहरहरु टोकियो र फुकुओकाजस्तै ओशाकामा पनि नेपथ्य प्रस्तुतीलाई भब्य दर्शक उपस्थितीले साथ दिएको थियो।

‘यो सहरमा आजसम्म पाँच–छ सयभन्दा बढी नेपालीहरुको जमघट भएको रेकर्ड छैन,’ आयोजक टोलीका सबिन थकाली भन्छन्, ‘१७ सय दर्शकहरु एकैपटक कन्सर्ट हेर्नका निम्ति उपस्थित भएको यो नै आजसम्मकै सबैभन्दा ठूलो नेपाली भेला बन्नपुग्यो।’

ओशाकाको ‘नाम्बा ह्याच सभागृह’का ढोकाहरु बेलुकी ठीक साँढे पाँच बजे खुला गर्नासाथ दर्शकको उल्लेख्य उपस्थिती सुरुभइसकेको थियो। त्यसको ठ्याक्कै एक घन्टामा शो सुरुभयो।

Hardik ivf

05 Nepathya performing in Osaka. Photo - Dipit Raz - Nepalaya1692379038.JPG

गायक अमृत गुरुङको नेतृत्वमा नेपथ्य टोलीले मञ्च प्रवेश गर्नासाथ पहिलो गीत ‘कोशीको पानी यो जिन्दगानी’ प्रस्तुत गरेको थियो।

कार्यक्रम अवधिभर दर्शकसँग संवादसमेत गरेका अमृतले उपस्थित सबैलाई घरि नेपाल पुगेका बेला डाँडा–काँडाको यात्रा गर्न प्रेरित गरेका थिए भने घरि नेपाली भाषा र संस्कृतिलाई जीवित राख्न अनुरोध गरेका थिए। ‘यो जिन्दगानी’ गीत प्रस्तुत गर्नुअघि उनले हाम्रो समाज परम्परादेखि परोपकारी चरित्रको रहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन आव्हान पनि गरे।

07 Nepathya performs to a housefull audience at the Namba Hatch in Osaka. Photo - Dipit Raz - Nepalaya1692379038.JPG

एकवर्ष यता नेपथ्यले सडक आश्रित मानवहरुका निम्ति खाना र बसोबासमा समर्पित मानवसेवा आश्रमसँग सहकार्य गर्दै आएको छ। ‘मानवताको लागि संगीत’ नाम दिएर सुरुभएको त्यो अभियानले नै जापान यात्रामा पनि निरन्तरता पाएको हो।

कन्सर्ट हेर्नका निम्ति ओशाका मात्र नभइ पर–परसम्मका दर्शक उपस्थित भएका थिए। स्थानीय आयोजकहरुका अनुसार नागोया सहरबाट पनि उल्लेखीय दर्शक आइपुगेका थिए।

यस्ता दर्शकमा नेपाली मात्र नभइ जापानी अनुहार पनि देखिन्थे। तिनैमध्येका एक थिए रियोसुके इमानिशी। रियोसुकेको परिवारसँग नेपाली समाजको पुरानो साइनो छ।

04 Nepathya bids farewell to the audience in Osaka. Photo - Dipit Raz - Nepalaya1692379037.JPG

सबैभन्दा पहिले त हाम्रो मुलुकमा रहेको विश्वकै सर्वोच्च शिखरमध्ये पर्ने मनास्लु हिमालमा रियोसुकेका हजुरबुवा तोशियो इमानिशीले नै सबैभन्दा पहिलो मानव पाइला टेकेको रेकर्ड छ।

‘मलाइ नेपालै पुगेजस्तो महशुस भयो,’ परिवारका साथ आएर कन्सर्ट हेरिसकेपछि रियोसुकेले भने, ‘यस्तो अवसर जुराइदिएकोमा म आयोजकहरुलाई धन्यवाद दिन चाहन्छु।’

नेपथ्यको प्रस्तुतीमा विशेष गरेर पर्दामा देखाइने नेपालका दृश्यहरु र गायकका बीच मिलेको तालमेलले आफूलाई सर्वाधिक प्रभाव पारेको उनले उल्लेख गरे।

‘जापान आइपुगेको नेपालको नयाँ पुस्ता नेपथ्यकै कारण खुशीले रोइरहेको चिच्याइरहेको दृश्य देख्न पाइयो,’ रियोसुकेले थपे, ‘नेपालीहरुको यो उत्साहलाई सलाम गर्न चाहन्छु।’

03 Nepathya performing at the Namba Hatch in Osaka. Photo - Dipit Raz - Nepalaya1692379036.JPG

दर्शकमध्येकै एक थिए नागोयाबाट आएका उज्ज्वल गुरागाइँ। ‘गीत संगीत त छँदैछ,’ उज्ज्वल भनिरहेका थिए, ‘ठ्याक्क समयमा सुरुहुने यत्तिको व्यवस्थित नेपाली कार्यक्रम अरुबेला अनुभव गर्न नपाइने भएकाले पनि नेपथ्य कन्सर्ट छुटाउन मन लाग्दैन।’

दुइवटा म्यूजिक भिडियो र १६ वटा गीत प्रस्तुत गरिएको कन्सर्ट दुइ घन्टासम्म निरन्तर चलेको थियो। अन्तिममा पुग्नैलाग्दा ‘गाउँ गाउँबाट उठ’ गीतले जताततै उफार्न थालेको दर्शक ‘रेशम’ र ‘तालको पानी’ सम्म आइपुग्दा चरम उत्तेजनामा पुगिसकेका थिए। त्यो उर्जालाई बिहीबार बेलुकीकै अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ले थप अघि बढाएको थियो।  

कार्यक्रममा अमृतलाई ध्रुव लामा (ड्रमसेट), सुरज थापा (किबोर्ड), सुबिन शाक्य (बेस गितार), निरज गुरुङ (गितार) र शान्ति रायमाझी (मादल)ले सघाएका थिए।

01 Nepathya performs to a housefull audience in Osaka. Photo - Dipit Raz - Nepalaya1692379016.JPG

ओशाकामा श्रृंखलाको अन्तिम कन्सर्ट सम्पन्न भएसँगै नेपथ्यको जापान यात्राले यो वर्षका लागि विश्राम लिएको छ।

‘यो वर्षदेखि हामीले जापानमा पनि श्रृंखलावद्ध कन्सर्टको थालनी गरेका छौं,’ नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘जापानका दर्शकहरुले तीनवटै कन्सर्टमा देखाएको हौसलाबाट आगामी दिनका लागि हामी थप उत्साही बनेका छौं।’

जापान यात्रा सम्पन्न भएसँगै १४ सदस्यीय नेपथ्य टोली अब नेपाल फर्कने तयारीमा जुटेको छ।

प्रकाशित मिति: ०८:०८ बजे, शनिबार, भदौ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्